भिजिट भिसाका नाममा घरेलु कामदारमा जान खोज्नेलाई फर्काइँदै

भिजिट भिसाका नाममा घरेलु कामदारमा जान खोज्नेलाई फर्काइँदै


पछिल्लो समय भिजिट भिसामार्फत वैदेशिक रोजगारीका लागि विभिन्न देशमा जाने क्रम बढेपछि सरकारले कडाइ गरेको छ । विशेषगरी घरेलु कामदारका लागि खाडी मुलुकसहित प्रतिबन्धित देशमा जाने महिलाको सङ्ख्या बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमै कडाइ गरिएको हो ।

विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सुरेश पन्थीले पछिल्लो एक हप्तामा भिजिट भिसामार्फत घरेलु कामदारका लागि विदेश जान लागेका पाँच सयभन्दा धेरै महिलासहितका पुरुषलाई विमानस्थलबाटै फर्काइएको जानकारी दिएका छन् ।

‘भिजिट भिसा देखाएर श्रम (कामदार) का लागि जान खोज्नेलाई हामीले फिर्ता गर्ने गुरेका छौँ, अहिलेसम्म त्यस्ता करिब पाँच सयभन्दा बढी फिर्ता गरिएको छ । आवश्यक कागजत बोकेर भिजिट भिसामा जान लागेकालाई भने रोकिएको छैन’, उनले भनेका छन् ।

संयुक्त अरब इमिरेट्स, बहराइन, कुबेत, कतार, ओमन, साउदी अरबमा भिजिट भिसामा भ्रमण गर्दा स्वघोषणा गर्नुपर्ने कार्यविधिमा उल्लेख भएकाले उक्त मापदण्डलाई कतिपयले दुरुपयोग गर्न थालेपछि कडाइ गरिएको अध्यागमन कार्यालयका प्रमुख पन्थीले बताए ।

यसरी अध्यागमनमा गरिएको कडाइप्रति कैयन वैदेशिक रोजगार व्यवसायीले भने असन्तुष्टि जनाएका छन् । सरकारले मनलागेको बेला फरक-फरक रवैया अपनाई नियम थोपर्दा भिजिट भिसामा यात्रा गर्न चाहने सेवाग्राहीले दुःख र झण्झट ब्यहोर्नुपरेको उनीहरुको तर्क छ ।

file photo