नगद लुटपाट र हत्याका अभियुक्त वाइबा २० वर्षपछि पक्राउ

नगद लुटपाट र हत्याका अभियुक्त वाइबा २० वर्षपछि पक्राउ


कर्तव्य ज्यान मुद्दामा अदालतबाट कैद सजाय पाएर दुई दशकदेखि फरार एक जनालाई मकवानपुर प्रहरीले आज (४ असार) पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको इन्दरसरोबर गाउँपालिका-१ नयाँगाउँ निवासी ६१ वर्षीय सन्तबहादुर स्याङ्बो भन्ने सन्तबहादुर वाइबा रहेको प्रहरीले जनाएको छ ।

काठमाडौं महानगरपालिका सावि-३५ निवासी ४२ वर्षीय केदारप्रसाद पराजुलीलाई गत २०६१ जेठ ३ गते नगद रु ५० हजार लुटपाट गरी कुटपिट गर्दै भिरबाट लडाएर हत्या गरेको कसुरमा मकवानपुर जिल्ला अदालतले २०७० फागुन ७ गते वाइबालाई १६ वर्ष कैद र रु. तीन लाख जरिवानाको फैसला गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार अदालतको आदेश लगत्तैबाट फरार वाइबालाई गोप्य सूचनाका आधारमा नयाँगाउँस्थित घरबाटै पक्राउ गरिएको हो । पक्राउ परेका वाइबालाई भोलि बुधबार आवश्यक कारबाहीका लागि अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ ।