देशको शत्रु चिनौँ !

देशको शत्रु चिनौँ !


दार्शनिक दृष्टिबाट हेरियो भने जगतमा शत्रु भेटिँदैन, शत्रु केवल आफ्नै दिमागको उपज हुनाले त्यसलाई एउटा आम भ्रमका रूपमा बुझ्न सकिन्छ । त्यसो त जगत नै मिथ्या हो भन्ने सिद्धान्तलाई स्वीकार गर्दा शत्रुमात्र नभएर हाम्रा इन्द्रीयहरूले बोध गर्ने सबै तत्व र ज्ञान भ्रम हुन् भन्नुपर्ने हुन्छ, अन्ततः इन्द्रीय आफै पनि भ्रम हो । तर जगत नै भ्रम भएपनि हामी स्वयम् भ्रम भित्रको यथार्थ हौं, यही यथार्थका आधारमा निस्कने निष्कर्षचाहिँ ‘हामी, हाम्रा परिवेश र हाम्रा भोगाइ’ हुन् । त्यसैले शत्रु या मित्र, सुख या दुःख, सुन्दर या कुरुप, सफलता या असफलताको अस्तित्व जहाँ जीवन छ त्यहाँ रहन्छ भनेर बुझ्नु उपयुक्त हुनेछ ।

जीवनमा मित्रताको बोध अर्को पक्षले गर्ने कर्मले निर्धारण गरेजस्तै अर्को पक्षको कर्मकै आधारमा शत्रु पनि निर्धारित हुन्छन् । यद्यपि आफ्नै कार्य र व्यवहार पनि कसैलाई शत्रु या मित्र बनाउने मुख्य कारणका रूपमा रहेको हुन्छ । मानिसमा अस्तित्वले स्वार्थी तत्वगुण भरिदिएको छ र हरेक मानिसलाई सुख र आनन्दको खोजीमा भौँतारिइरहने पनि अस्तित्वले नै बनाइदिएको छ । स्वार्थ र सुखप्राप्तिको स्थायी गुणले नै मानिसको जीवनमा शत्रु र मित्रहरूको सङ्ख्या निश्चित गर्दै लगेको हुन्छ । देशको शत्रु र मित्र बन्ने आधार पनि उल्लिखित गुणले नै निर्धारण गर्ने हो । मानिसको चाहना भन्दा भिन्न चाहना देशको पनि हुने गर्दैन, जसरी एउटा मानिसले सधैं आफ्नो सूरक्षा, सुख र समृद्धिको चाहना राख्छ देशले राख्ने चाहना पनि यिनै हुन्, शत्रु या मित्र ठहर हुने मूल कारण पनि उल्लिखित चाहनामै निर्भर रहेको हुन्छ । सबै मानिस खुशी हुनु भनेको देश खुशी हुनु हो, सुख समृद्धि पनि मानिस या देशको खुशीको मूल कारण हुन् । यसर्थ देशलाई सूरक्षित र समृद्ध बन्न अवरोध पैदा गर्ने आन्तरिक या बाह्य तत्वलाई शत्रु ठहर गर्न सकिन्छ ।

बाह्य तत्व शत्रु भूमिकामै भएपनि उसलाई चिन्ने र सचेत भएर आफ्ना लक्ष हाशील गर्ने कुटनीतिक मार्ग निरन्तर अबलम्बन गरिरहनुपर्ने हुन्छ । युद्धलाई जसले निरन्तर पन्छाउदै जानसक्छ उसको कुटनीति सफल भएको मान्नुपर्छ । नियत जेसुकै भएपनि नेपालको इतिहासका भीमसेन थापा र युक्रेनको वर्तमानका जिलेन्स्की कुटनीतिक दृष्टिले पूर्ण असफल मानिस हुन् । देशलाई अस्थीर र विपन्न बनाइरहन हरदम प्रयासरत रहने बाह्यशक्तिको पहिचान गर्नसक्नु, त्यस्तो शक्तिलाई सकेसम्म मित्र भूमिकामा बदल्न र मित्र बनाउन नसक्दा तटस्थमात्र तुल्याउन सक्नुलाई पनि कुटनीतिक सफलता मानिन्छ ।

नेपालको विपन्नता र राजनीतिक अस्थिरताको एउटा मुख्य कारण बाह्यशक्तिहरूको स्वार्थको टकराव भएपनि प्रत्यक्ष भूमिकामा प्रकट नहुँदासम्म उनीहरूलाई मुख्य शत्रु किटान गर्न सकिन्न र, हुँदैन पनि । नेपालकै नीति निर्माण तहलाई प्रभाव र प्रलोभनमा पारेर बाह्यशक्तिले आफ्ना सिद्धि प्राप्त गर्ने गरेका हुनाले हामीले हाम्रो शत्रु देशभित्रै खोज्नु उचित हुनेछ । हो, अस्थिरता र गरिबीमा मात्र आफ्नो भूमिका बलवान् हुने हुनाले बाहिरी शक्ति नेपालको गरिबी र अस्थिरतामा आफ्नो भविष्य देख्छ, तर तिनको स्वार्थअनुकुल नीति निर्माण गर्ने या निर्णय दिने ब्यक्ति या तप्का ठ्याक्कै नेपाली अनुहार र नागरिकताको प्रमाणपत्रसहित बसिरहेका हुनाले हाम्रो ध्यान यसतर्फ केन्द्रीत रहन आवश्यक देखिएको छ । बाह्यशक्तिले आफ्ना राष्ट्रिय स्वार्थअनुरूप कुनै मुलुकको राज्यसंयन्त्रलाई प्रयोग, उपयोग या दुरुपयोग गर्न खोज्छ भने त्यो उनीहरूको सामान्य धर्म हो । हाम्रो नेतृत्वदायी अङ्गले पनि राष्ट्रिय स्वार्थलाई पहिलो प्रथमिकतामा राख्न सक्नुपऱ्यो, राखेनन् । त्यसकारण हाम्रो शत्रु हाम्रैभित्र छन्, तिनको पहिचान गरेर आवश्यक शुद्धिकरणको कानूनी र राजनीतिक प्रक्रिया सुरु गर्न अब विलम्ब गर्नु भनेको देशको अस्तित्वमै क्षति पुऱ्याउनु हो ।

देशको शत्रु को हुन् भन्ने प्रश्न कसैले ग¥यो भने यो वा त्यो पार्टी र नेतृत्वको नाम किटान गर्ने नेपाली परम्परागत जवाफ हो । राजनीतिक भूमिका र जिम्मेवारी नै सर्वोच्च हुने भएकोले नेता र पार्टीको नाम तोकेर शत्रु करार दिइनुलाई पनि अस्वाभाविकचाहिँ ठान्नु नपर्ला । तर उल्लिखित प्रश्नको सूक्ष्म जवाफ खोजी गरेमा हामी वास्तविक शत्रुको पहिचान गर्न सक्छौँ । बाह्यशक्तिको भूमिका र राजनीतिक नेतृत्वको अक्षमता, अयोग्यता तथा अदुरदर्शितालाई मुख्य रूपले जिम्मेवार हुँदाहुँदै पनि देशमा निराशा ब्याप्त गराउन र जनसाधारणको दैनिक कार्यमा ब्यवधान पैदा गर्ने वास्तविक आन्तरिक शत्रुको पहिचान गर्न आवश्यक भएको हो । आकाशको चील देखाउँदै भुइँको कुखुरा चोरेको शैलीमा केवल नेता र पार्टीतिर चोरी औंला देखाएर कसले आफ्ना स्वार्थ पूरा गरिरहेछ भन्ने तथ्य बुझ्न सक्नुपर्छ । काङ्ग्रेस देशमा बहुदलीय राजनीतिक प्रणाली स्थापना गर्ने मूल उद्देश्यका साथ खुलेको थियो, उसले आफ्नो लक्ष्यमा सफलता हाशील गरिसकेको छ भने कम्युनिष्ट पार्टीको स्थापना देशमा गणतन्त्रात्मक प्रणाली प्राप्तिका निम्ति भएको थियो । दुवै थरी आफ्नो लक्षमा सफल भइसकेका छन्, देशलाई कसरी सम्पन्न र समृद्ध तुल्याउने भन्ने एजेण्डा उनीहरूको प्राथमिकतामा थिएन । जसको प्राथमिक एजेण्डा नै समृद्धिसँग सम्बद्ध छैनन्, हामी तिनैलाई देश समृद्ध नतुल्याइदिएकोमा दोषी ठहर गर्दैछौँ । देश समृद्धिको सुस्पष्ट दृष्टिकोण, कार्यक्रम, एजेण्डा र इमानदारी नभएकाहरूलाई देश नबनाइदिएको आरोप लगाएर वास्तवमा हामी हाम्रो र देशको समय बर्बाद गरिरहेका छौँ । विद्यमान सङ्कटका निम्ति पुराना राजनीतिक दल र तिनको नेतृत्व जिम्मेवार भएकोले आम मानिस वैकल्पिक अवस्थाको खोजीमा छन् । जनताको यही मनोविज्ञानलाई बुझेर अदृश्य शक्तिहरू नीति र व्यवस्था यथावत राखि नेतामात्र बदलेर आफ्ना लक्ष्य हाशील गर्न खोज्दैछन् । यसक्रममा रातारात रहश्यमयी पात्रहरू अघिसारिएका छन् र विकल्पका रूपमा खडा गरिएका छन् ।

एउटा साधारण ब्यक्ति जो घरबाट निस्केर कुनै काममा जान्छ, उसले पाइला पाइलामा कर्मचारीसँग ठोक्किनु पर्छ । कुनै कामका लागि कम्पनी खडा गर्न कम्पनी रजिस्ट्रारको कार्यालयमा पुग्दा त्यहाँ अतिरिक्त दाम नचढाइ फाइल सर्दैसर्दैन ! उद्यम ब्यवशायको नवीकरण गर्ने क्रममा पनि अतिरिक्त नगद नै चढाउनुपर्ने हुन्छ । कर बुझाउन जाँदासमेत लामबद्ध भएर बेग्लै नगद बुझाउन बाध्य पारिन्छ । त्यसमाथि कर्मचारीको रुखो र खस्रो ब्यवहारको सामना पनि जहाँकहिँ गर्नु परेकै हुन्छ । जमिन खरिद या बिक्री गर्न जाँदा नापी र मालपोत कार्यालयमा अतिरिक्त दाम नचढाउने नेपाली खोजियो भने सम्भवतः निकै मुस्किलले मात्र भेटिने छन् । बाह्य लगानी भित्र्याउन अनुमतिका निम्ति उद्योग मन्त्रालयको एफडीआइ शाखामा पुगेकाहरूलाई कर्मचारीको ब्यवहारले यति निरास तुल्याउँछ कि बरु यो देशमा केही गर्दै नगरौँ भन्ने मनस्थितिमा पुऱ्याइदिन्छ । कसैलाई वन मन्त्रालयअन्तर्गतका कर्मचारीसँग काम पऱ्यो भने उसले पूरै जीवन ‘वन’मै समर्पण गर्नुपर्ने हुन्छ, त्यति गरेर पनि उसले कर्मचारीबाट काम लिने सफलता हाशील गर्न मुस्किल हुनसक्छ । नागरिकको काम पर्ने जिल्ला प्रशासन कार्यालय हुन् या पालिका हुन् या पर्यटन मन्त्रालय अन्तर्गतका कार्यालय हुन या अर्थ मन्त्रालय अन्तर्गतका भन्सार र राजस्वसम्बद्ध कार्यालय हुन या विद्युत प्राधिकरण लगायत उर्जा मन्त्रालय मातहतका कार्यालय हुन या शिक्षा, कृषि र स्वास्थ्य जस्ता मन्त्रालय अन्तर्गतका कार्यालय हुन, सबैको काम र कार्यशैली एकै प्रकारको हुनेगर्छ, अतिरिक्त दाम नचढाई कहिँ कसैको फाइल सर्दैसर्दैन ।

गृह मन्त्रालयअन्तर्गत अध्यागमनलगायतका कार्यालयमा हुने भ्रष्टाचार र व्यवहार पनि आम नागरिकको पीडाको विषय हो । अख्तियार, विशेष प्रहरी र सम्पत्ती शुद्धिकरण जस्ता निकायमा समेत भ्रष्टाचार हुने देश हो नेपाल ! गुणस्तर मापन र अनुगमनकारी निकायमा पनि घुसपेस चल्ने गर्दछ । जुन निकायहरूमा कर्मचारी बाहेक अन्यको भूमिका शून्यबराबर रहन्छ । शक्तिकेन्द्र तथा त्यसको वरिपरिकालाई रिझाउने र आम जनतालाई बिझाउने कार्य व्यवहार नगर्ने या नगरेका कर्मचारी देशभरिबाट खोजियो भनेपनि शयजना भेटिन मुस्किल पर्ला । सातवटा सगरमाथा चढ्न बरु सजिलो होला तर नेपालका कर्मचारीबाट काम लिन त्यो भन्दा बढी कठिन हुन्छ । आम ब्यवशायी र नयाँ पुस्तालाई निरास तुल्याउन कर्मचारीतन्त्रले पन्चान्नब्बे प्रतिशत ‘योगदान’ पुऱ्याएका छन भनियो भने सायद गलत हुनेछैन । यही देशमा बसेर केही गर्न चाहने हरेक नागरिकलाई क्षणभरमै पलायन हुने मनस्थितिमा पुऱ्याइदिने ‘कला र क्षमता’मा प्रतिष्पर्धा हुने हो भने नेपालको कर्मचारीतन्त्र सम्भवतः विश्वमै प्रथम कोटिको ठहरिन सक्ला !

लोक सेवा आयोग नामक निकायले निश्चित मापदण्डका आधारमा एकपटक लिएको एउटा कुनै परीक्षामा उत्तीर्ण भएकै आधारमा कम्तिमा तीस वर्षसम्म आम नागरिकलाई सताउने, अवकाशपछि पनि राजनीतिक नियुक्तिका निम्ति प्रयास गर्ने र त्यस्तो अवसर मिलेको या नमिलेको अवस्थामा ‘केटाकेटी उतै छन्, तिनले बोलाए’ भन्दै सदाको लागि देश छोड्नेमा को पर्छन् ? राज्यशक्तिलाई आफ्नो निजी हितमा बाँचुन्जेल प्रयोग गरिरहनेमा को पर्छन् ? कानूनको प्रारम्भिक मस्यौदा तयार गर्दा केवल आफ्नै हितलाई ध्यानमा राख्ने काम कसले गरेको छ ? प्रशंसनीय कुनै काम भएमा मन्त्री र प्रधानमन्त्रीको आदेश पनि नमानेर ‘मैले गरेको’ भन्दै सञ्चारमाध्यममा देखापर्ने र कुनै गलत काम ‘एक्स्पोज’ भएमा ‘हामी त कर्मचारी हजूर.. माथिको आदेश पालना मात्र गर्ने हौं’ भन्दै पानी माथिको ओभानो बन्न खोज्नेमा को पर्छन् ? हरेक काम भोलि-भोलि भन्दै नागरिकलाई सताउने को हुन्छन् ? यस्ता हज्जार प्रश्नहरू हुनसक्छन् जुन कर्मचारीतन्त्रमाथि उठ्न सक्छ । हो, कतिपय कर्मचारी असल र इमान्दार पनि नभएका होइनन् । तिनका भूमिका देश र जनताको हितभन्दा बाहिर गएको पनि देखिँदैन, तर यी अपवाद हुन्, ब्यक्तिगत हुन् । आम कर्मचारीतन्त्रको कुरा गर्दा एउटा खराब नेता र असल कर्मचारीबीच तुलना गरिएको अवस्थामा पनि ‘बरु खराब नेता नै असल’ भन्ने निष्कर्षमा पुगिने स्थिति छ । किनभने नेता जतिसुकै खराब भएपनि उसले आफ्नो कार्यकालमा केही गरेर देखाउने मानसिकता बोकेको हुन्छ, तर एउटा असल कर्मचारी पनि आफ्नो (परिवारको) हित भन्दामाथि उठेको भेटिन मुस्किल पर्छ मरुभूमिमा तलाउ भेट्न कठिन भएजस्तै ।

नेपालको कर्मचारीतन्त्र कति कामचोर छ, कति नकारात्मक र भ्रष्ट छ भन्ने बुझ्न अवकाश भएर पनि यही मुलुकमा बसेर केही गर्न खोजिरहेका पूर्व कर्मचारीलाई नै सोधियो भनेपनि उनले बताउन सक्छन् । विदेशीलाई राष्ट्रका गुप्त सूचना बेच्नेदेखि आम नागरिकको काममा विभिन्न बहानाबाजी गर्दै सताउनेसम्मका काममा कर्मचारीतन्त्रको भूमिका अतुलनीय देखिन्छ । हामी केवल राजनीतिक नेतृत्वलाई मात्र दोष देखाएर रोष प्रकट गर्ने गर्दछौँ । विगतमा कर्मचारीहरू पनि नैतिकता र अनुशासनमा रहेको महसूस गरिन्थ्यो, तर वर्तमान बेग्लिएको छ । राजनीतिक नेतृत्वलाई अलमल्याउने, तिनको मार्गमा अवरोध पैदा गराउने र तिनलाई भ्रष्ट बनाउने काम कसैले गरेका छन् भने त्यो केवल कर्मचारीतन्त्र भित्रबाट नै भइरहेको छ । त्यसैले देशको मुख्य शत्रु भूमिकामा यतिबेला कर्मचारीतन्त्र नै रहेको निष्कर्षमा पुग्नु गलत हुनेछैन । यसो भन्दा अल्पसङ्ख्यक असल कर्मचारीको मन दुख्न सक्ला, तर उहाँहरूले पनि अवकाशपछि महसूस गर्ने मौका पाउनुहुनेछ ! कतिपयको तर्क हुनसक्छ राजनीति सुध्रियो भने सबै सुध्रिनेछ, त्यसैले पहिले राजनीतिक क्षेत्र सुध्रिनु पर्छ । यो तर्क गलत होइन, तर यो सिद्धान्त हो, राजनीति सुध्रिएपछि सबै सुध्रिन्छ भन्ने सिद्धान्तका बारेमा पनि बहस छलफल गर्न सकिन्छ । यहाँ वर्तमान र ब्यवहारको मात्र चर्चा गरिएको हो ।

राजनीतिक कर्ममा सामेल लाखौँ ब्यक्तिहरू मध्ये मुस्किलले दुई शय जनाले देश बर्बादीको भूमिका निर्वाह गरेका होलान् । प्रहरी र सेनाको कार्यब्यवहार पनि प्रश्न उठ्ने प्रकारकै रहेको महसूस हामीले गरेका छौँ । मिडिया क्षेत्र पनि देशको बर्बादीमा जिम्मेवार देखिएको छ । न्यायालय र न्यायकर्मीका चरित्रबारे लेख्दा महाभारतकै आकारको ग्रन्थ तयार हुनसक्छ । माफियागिरी र गुण्डागर्दी एउटा बिकराल समस्या हो र यस्ता कार्यमा राजनीतिक नेतृत्वको संरक्षण रहदै आएको छ । देशको शत्रु भूमिकामा राजनीति र अन्य कतिपय क्षेत्र छैन भन्ने हुँदैहोइन, तर वर्तमानमा मुख्य भूमिकाचाहिँ कर्मचारीतन्त्रले नै निर्वाह गरिरहेको छ । कर्मचारीतन्त्रमा संरचनागत र अन्य सुधार नभएसम्म नेपाल नबन्ने निश्चित छ, साक्षात गौतम बुद्ध या भगवान् राम नै प्रकट भएर देश सञ्चालनको जिम्मा लिएपनि भगवानलाई समेत पत्रु साबित गर्नसक्ने क्षमता नेपालको कर्मचारीतन्त्रमा देखियो ! सचेत बनौं, आमूल सुधारको जोडदार प्रयत्न सबैतिरबाट होस् ! जय मातृभूमि !