लोभी ‘जनटा’ – पापी व्यापारी !

लोभी ‘जनटा’ – पापी व्यापारी !


चाउचाउको चिठ्ठामा घर पर्छ भन्ने लोभले चाउचाउ किन्ने ग्राहकप्रति इंगित गर्दै मेरा नेवार छिमेकी पसलेको टिप्पणी- ‘बुझ्नुभो भुर्टेलजी, जनटाले लोभ गर्डा पापी व्यापारीले फाइडा लुट्छ । घर पर्छ भनेर चाउचाउ किन्छ, त्चथ बनबष्ल डेखेर जिल पर्छ ।’

आफू पनि ‘लोभी जनटा’भित्रैको जन्तु परियो । मोबाइलमा विज्ञापन देखियो ‘कम्बो अफर ! ९९९ मा बाइक चलाउँदा लाउने पञ्जा, टोपी, चेष्ट गार्ड’ । जाडो मौसम, हजार रुपयाँमा एक रु. फिर्ता समेत आउने कम्बो अफर कसरी छोड्नु ? गोर्खे स्वभावअनुसार डेलिभरी चार्ज नदिने दलालीपछि १००० मा कुरो मिल्यो । भोलिपल्टै घरमै सामान हाजिर । उत्साहपूर्वक ग्रहण गरियो, लाइयो पनि । पञ्जाबाट औंलो निस्केर लगभग महिना दिनमै अंकल भन्दै जिस्क्याउन थाल्यो । टोपी हामीले बच्चामा ओड्ने कर्कलोको पातकै मित परेछ, ऊ पनि दीर्घजीवी भएन । चेष्टगार्ड भन्दा बरु सिमेण्टको बोरा उत्तम हुन्थ्यो होला, अहिले कुनामा थन्केको छ ।

अर्को विज्ञापन देखियो- मात्र ५ मिनेटमा फुलेको सेतो कपाल कालो बनाउने डक्सको हेयर डाई सेम्पु । मिक्स गर्ने झञ्झट नपर्ने, छालामा नलाग्ने, एक वर्षलाई पुग्ने, मेड इन लण्डन । बट्टामा काइँयो समेत सेटिङ । आहा ! मिसाउनु पनि नपर्ने साथमा काइँयो पनि । लोभी जनटाले फोन नम्बर दियो । कुखुराको डाकसँगै फोन आउन शुरु भो- नमस्कार सर …!

एउटा रमाइलो चैं के भने फोन नम्बर दिएपछि भोलिपल्टदेखि कस्मिरकी कलीमा सम्मी कपूरले सर्मिला टैगोरको पछि लागेझैँ हुने । छिनछिनमा फोन आइरहने जबसम्म अर्डर गर्दैन तबसम्म ‘तेरा पिछा न छोडेंगे’ भन्दै नाच्ने धर्मेन्द्र जस्तै ।

ठिकै छ नि त । मिसाउन पनि नपर्ने काइँयो पनि सँगै जोडिएको । अर्डर गरियो, भोलिपल्टै माल हाजिर !

बट्टासँग दर्शनभेट भो । मार्केटमा ३५ रुपैयाँमा पाइने सेम्पो मिसाएर बट्टामा भरेको पो रैछ । ४०० एमएल चैं बट्टासँगै नाप्दा मात्रै पुग्थ्यो होला । तीन पटक लगाएपछि बट्टामा पानी हालेर पाखुरा चुँडिउञ्जेल हल्लाउँदा पनि मेलम्चीकै धारो जस्तो । लोभी जनटा दोस्रो पटक जिल्ल । पाँच मिनेटमै कपाल कालो बनाउने म्याजिक सेम्पू विश्वप्रसिद्ध म्याजिक ब्ल्याक सेम्पू । मेन एण्ड ओमेन रेगुलर प्रयोग गर्नुस् । छालामा लाग्ने डर पनि भएन, शेलुन धाउनु पनि परेन ।

ओहो, लगाइदिने मान्छे पनि नचाहिने, भिडियोमा दारीमा समेत दलेको देखेपछि लोभी जनटाले फोन नम्बर छोड्यो । केही बेरपछि फोन यसरी आउन सुरु गऱ्यो कि पहिलो पटक ससुराली जाँदाको खातिरदारी नै बिर्सिन पुगियो । साह्रै खातिरदारीपछि लोभी जनटाले म्याजिक सेम्पू पनि अर्डर गऱ्यो । टुटुल्कोमा दलियो । ठ्याक्कै घडी हेरेर पाँच मिनेटपछि पखालेर ऐना हेर्दा उहिले किशुनजीले ६ बुँदे सम्झौतामा चिप्ल्याएको एमालेझैँ पो भइएछ । पाँच मिनेटले नपुगेको होला भनेर दोस्रो खेप दलेर आधा घण्टा पछि पखाल्दा तिलचामले सम्म चैं भइयो ।

हैट ! लु भएन । अझ यस्ता विज्ञापनको पछि लागेर कपाल कालो हुने सपनी देख्नु र कांग्रेस-कम्युनिष्टका पछि लागेर समृद्ध मुलुकको कल्पना गर्नु एकै लागेर फोनसोन गर्न छोडियो ।

लोभी जनटाले छोडेर के गर्नु ? पापी व्यापारीले छोडे पो ! विज्ञापन आउन छोड्दैन । एउटा रमाइलो विज्ञापन पनि देखियो- इन्डियामा बनेको पारस हेल्दी जीवन प्रयोग गरौँ । १५-२० दिनमै सजिलै ५-७ केजी वजन बढाउनुस् । अनि बङ्गुर जस्तै शरीर बनाएर आफ्नो पार्टनर कुट्नुस् । काम नगरे डबल पैसा फिर्ता । हरे शिव । वजन बढाउनु अनि बङ्गुर जस्तै हुनु रे । त्यसमाथि आफ्नै पार्टनर कुट्नु जस्तो हिंसात्मक सल्लाह ? पक्कै यो कुनै आतंकवादी हुनुपर्छ भनेर वास्ता गरिएन ।

विज्ञापनको क्रम रोकिएन । पापी व्यापारीले किन छोड्थ्यो र !

हजुरहरुको अत्यधिक मागअनुसार हामीसँग आइसकेको छ- ब्लाक हेयर सेम्पू । ब्राउनमा पनि उपलब्ध छ । यसको प्रयोगबाट कपाललाई साइनी र स्मुथ बनाउनुस् । अर्डरका लागि हरियाली अनलाइन सप ।

जवानीमै बुढो देखिनुभएको छ भने नेचुरल जडीबुटीबाट बनेको एमोनिया फ्रि सेम्पू प्रयोग गरी आफ्नो जवानी जोगाइराख्नुस् । आ… कति जोगाउनु भन्दै जवानी जोगाउनतिर नलागी बेवास्ता गरियो ।

सबैभन्दा रमाइलो विज्ञापन आयो- एन्जो हेयर ओएल । यो एन्जो हेयर ओयल सेरम प्रयोग गरेपछि ७ देखि ८ वर्षसम्म कपाल कालो बनाइदिन्छ । ग्यारेन्टी कार्डसहित आउँछ । हाम्रो कस्टमर टीकाराम सरले प्रयोग गरेको एक महिनामा यस्तो भैसकेको छ भन्दै एउटा बुढोको सेतै कपाल कालो भएको भिडियो पनि देखाउँछ । थोपडा हेर्दा जापानिज चाइनिज जस्तो देखिए पनि नाम चाहिँ सिताराम रे ! एक पटक लाएपछि सात/आठ वर्ष कालो । आहा । जिनिस त यो पो रैछ । लोभी जनटाले त्यता पनि नम्बर छोड्यो ।

ओहो, हैजा बरु अलि बिस्तारै आउला । फोन फास्ट ट्रयाकबाट आउन थाल्यो ।

– सर, कहिले पठाउँ ? हजुर कहाँबाट ?

– म झापा विर्तामोडबाट भाइ । मलाई एउटा कुरा अचम्म लाग्यो । एक पल्ट लाएपछि सात/आठ वर्षसम्म कसरी कालो हुन्छ ? पलाउँदा त तलबाट सेतै पलाउँछ नि हैन र ?

– हैन सर, हाम्रो सेम्पूले जरैबाट कालो पलाउने हर्मोन क्रिएट गर्छ ।

– झापामा तपाईंका ग्राहक कति छन् भाइ ?

– ओहो सर, झापामा टन्नै हुनुहुन्छ नि । हाम्रो सबैभन्दा धेरै युजर झापाकै त हो नि ।

– ओके, म यो तेल लिन्छु । मलाई सितारामजीको अनि झापाका कुनै पाँच युजरको नाम र सम्पर्क नम्बर दिनुस् । म उनीहरुसँग बुझेर लिन्छु ।

– त्यसरी त हुन्न । तपाईंलाई अनलाइन सपिङ गर्न आउँदो रैनछ सर ।

– तिमीलाई चाहिँ अनलाइन ठगी गर्न आउँदो रैछ । फोन काट ।

त्यसपछि फोन आउन छाड्यो ।

लोभी जनटा र पापी व्यापारीको कथा यतिमै सकिनेवाला थिएन ।

अब आयो श्रीकेश तेल । चिन्डेलाई झ्याप्ले बनाउने, अर्ध चिन्डेलाई पूर्ण चिन्डे हुनबाट जोगाउने, कपाल कालो पनि बनाउने, आकाश पाताल एक गर्दिने विज्ञापन । प्रयोगकर्ता पनि कस्ता कस्ता पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, हास्य कलाकार मह जोडी, रातामकै, फिल्म निर्माता प्रदीप भट्टराई, दयाहाङ राई, केकी अधिकारी अनि प्रचारक चिप्ले अंकल ।

ओहो, चाहिने जिनिस त यो पो रैछ । यस्ता प्रख्यात मान्छेले ठीक मात्र हैन, अति ठीक, रामवाण नै हो भनेपछि लोभी जनटाले कसरी नपत्याउनु ? त्यता पनि फोन नम्बर हुत्याइयो ।

अब मेलम्चीको पानी बिर्साउने गरी फोनको भेल आउन थाल्यो । सर, कतिवटा पठाइदिउँ ? कहिले पठाइदिउँ, आदि इत्यादि ।

ओहो, ज्ञानमणि भूर्तेल पहिले जस्तो लाटोसोझो रहेन अब, बाठो झापाली ! पापी व्यापारीको विज्ञापनले झनै बाठो बनाइदिएको ।

म लिन्छु नानी तर तिम्रो अफिसमै आएर हेरेर लिन्छु । मेरो काठमाडौं आउने काम छ त्यसबेलै लिउँला है ।

ओके सर… तपाईंको इच्छा । नानीले फोन राखिन् । बाठो झापाली काठमाडौं पुग्यो । पुरानो बानेश्वर अफिस पुगेपछि बाउ सम्मान पाइयो ।

नमस्ते अंकल । कहाँबाट ? कतिवटा चाहियो ? यस्तो छ, उस्तो छ, यसले लग्यो, त्यसले लग्यो । चिन्डे झ्याप्ले भयो, झ्याप्ले बनझाँक्री जस्तो भयो । के के हो के के !

पसल पनि देखियो । यत्रा विधि ठूलावडा राजनेतादेखि कलाकारसम्मले तारिफ गरेको जिनिस पक्कै राम्रो होला । ३००० तिरेर भित्र आधी झारपात आधी झोल भएको बोतल समाउँदा दाहिने मुटु चसक्क भो । तर चिण्डे हुनबाट जोगिन्छ, झ्याप्ले भइन्छ, गुमेको वैंश फेरि फर्किन्छ भने ३००० भनेको एकपल्ट त हो नि भनेर चित्त बुझाइयो । जोगीले खरानी धसेझैँ बिहानबेलुकै दल्न थालियो । हप्ता-दश दिनसम्म त नुहाउँदा झर्ने कपाल यस्तै हो, अलिदिन पछि रोकिएला भन्ने ठान्दै दल्ने क्रम रोकिएन । ६ महिनापछि बिस्तारै भ्रमको पोको दुलो पर्न थाल्यो । लोभी जनटाले ब्रह्मज्ञान प्राप्त गऱ्यो- आफ्नो सेतो सारीमा रातो रंग छर्किन लाएर चुनाव जित्नेका कुरा पत्याउने मै उल्लु । महजोडी, रातामकै हास्य कलाकार हुन्, उनीहरुले पैसा पाएपछि विज्ञापन गरिदिन्छन् । कलाकार होस् या जोसुकैले हँसाएका रैछन् भन्ने बिस्तारै बुझियो । अर्का जात्रा मेकरले अर्को जात्रा देखाएका रैछन् । राई र अधिकारी जस्ता कलाकार त जस्तो पनि अभिनय गर्न खप्पिस । चिप्ले अंकल त चिप्ल्याउन सिपालु उनको कुरै बेग्लै धेरैलाई चिप्ल्याए ।

खैर, यि सब गन्थनको कुनै अर्थ छैन । बारम्बार छिमेकीको एउटै कुरा मष्तिष्कमा खेलिरहन्छ, लोभी जनटा पापी व्यापारी । राष्ट्रपतिले लायो, कलाकारले लायो, ठूलो मान्छेले विज्ञापन गऱ्यो भन्दैमा पिण्ड खाने बेलामा पेडाको चाहना गर्दै वैंश फर्काउने भ्रमको पोको खोज्दै हिँड्ने लोभी जनटा खुच्चिङ !

अहिले चिप्ले अंकल अर्को मालिस तेल लिएर आएका छन् । फेरि एकपटक फोन लाउने जमर्कोमा थियो लोभी जनटा । तर बालेनले चिप्ल्याइदिएर सब बर्बाद भो ।