✍ उद्धवप्रसाद भटृराई ‘चैतन्यदीप’
सुशासनको वास्ता छैन कस्तो बन्यो नीति,
जागरुकतालाई नलिँदामा बित्न जान्छ मिति ।
लोकतन्त्र र गणतन्त्रको के हो यस्को रीति,
सिद्धान्तको मतलब छैन कस्तो राजनीति ।
चरित्र र नैतिकतालाई पन्छाउँछन् पर,
विकल्पको खोजी गरौं छैन यिनको भर ।
जताततै विग्रेको छ व्यवस्थाको थिति,
लोभ लालच स्वार्थ मात्रै कस्तो राजनीति ।
समझदारी हराउने अनेक काम गर्छन्,
अनेक स्वार्थ आफन्तको मोहजालमा पर्छन् ।
पद-पैसा र पजेरोमा लाउँछन् माया प्रीति,
जनता भन्या जन्तु ठान्ने कस्तो राजनीति ।
ठूलो स्वरले भाषण गर्दै बन्छन् राष्ट्र्वादी,
भाग वण्डाको शासन सत्ता खान्छन् आधी-आधी ।
अरुलाई कमजोर ठानी बोल्छन् आफैं जिति,
गफै-गफले मख्ख पार्छन् कस्तो राजनीति ।
जनताको समस्यालाई जति सक्यो टार्ने,
सज्जन-सोझा मानिसलाई सजाएँमा पार्ने ।
पद-पैसा र सम्पत्तिको लुटिरहने खेती,
जन सुझाव लत्याई दिने कस्तो राजनीति ।
प्रतिक्रिया