युवालाई स्वदेशमै रोजगारी सिर्जनाका लागि सहकारी रोजगार मेला हुँदै

युवालाई स्वदेशमै रोजगारी सिर्जनाका लागि सहकारी रोजगार मेला हुँदै


प्रथम सहकारी रोजगार मेला-२०८१ शुक्रबार (७ असार) देखि हुने भएको छ । असार ७ देखि ९ गतेसम्म प्रथम सहकारी रोजगार मेला सञ्चालन हुन लागेको राष्ट्रिय सहकारी महासङ्घले जानकारी दिएको हो ।

महासङ्घकी अध्यक्ष ओमदेवी मल्लले सहकारीमार्फत युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको जानकारी दिँदै दिनप्रतिदिन युवाहरू विदेश जानुपर्ने परिस्थिति अन्त्य गरी मुलुकभित्रै सहकारीको माध्यमबाट रोजगार बनाउने उद्देश्यले मेला आयोजना गरिएको बताएकी छन् ।

मेलाले मर्यादित रोजगारीका अवसर प्रवर्द्धन गर्ने मल्लको विश्वास छ । हाल नेपालमा ३१ हजार सहकारीमा एक लाखभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको उनले जानकारी दिइन् ।

‘मर्यादित सहकारी व्यवसायका लागि युवा सङ्लग्नता’ भन्ने नाराका साथ हुन लागेको मेलामा उत्पादन तथा सेवाका सहकारीहरू र अन्य जनशक्ति खोज्न सहजता प्रदान गर्ने आयोजकले जनाएको छ ।

मेलामा नवप्रवर्तन र साना व्यवसायमार्फत स्वरोजगार गर्न चाहनेको लागि नेटवर्किङको कार्यसमेत हुने बताइएको छ ।