रोकिराखेको लरीमा यात्रीबाहक बस ठोक्किँदा तीन जनाको मृत्यु

रोकिराखेको लरीमा यात्रीबाहक बस ठोक्किँदा तीन जनाको मृत्यु


सर्लाहीको बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज (६ असार) बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिक-११, रायमाझीचोकमा रोकेर राखेको लरीमा यात्रीबाहक बस ठोक्किँदा रुपन्देहीको मायादेवी गाउँपालिकानिवासी हरिबहादुर चौधरी, ८५ वर्षका दशरथ कोहार र ५० वर्षका रामकरण केवटको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनालगत्तै उद्धार गरी उनीहरुलाई हरिवनस्थित नमूना अस्पताल पुऱ्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए ।

रुपन्देहीबाट जनकपुरतर्फ गइरहेको बस दुर्घटना भएको हो । बसमा ४० जना सवार रहेका प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकाहरुको जनकपुर, वीरगञ्ज तथा स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।