भक्तपुरमा भेटियो ‘लेसर ग्रे स्राइक’ जातको नयाँ चरा

भक्तपुरमा भेटियो ‘लेसर ग्रे स्राइक’ जातको नयाँ चरा


युरोप, दक्षिण तथा पश्चिम एसियाको रैथाने पन्छी ‘लेसर ग्रे स्राइक’ पहिलोपटक भक्तपुरको मनोहरामा देखिएको छ ।

तापक्रम वृद्धिसँगै गर्मी भेगमा मात्रै हुने यो पन्छी असार लागेपछि भक्तपुरको मनोहरास्थित मिनि कोशी टप्पुमा भेटिएको चरा अन्वेषणकर्ता सञ्जय थाश्रेष्ठले जानकारी दिएका छन् । काठमाडौं उपत्यकामा पहिलोपटक भक्तपुरको मनोहरामा यो चरा देखिएको श्रेष्ठको भनाइ छ ।

पन्छी पथप्रदर्शक शङ्कर तिवारीले मनोहरामा ‘लेसर ग्रे स्राइक’ भेटेपछि तस्बिर कैद गर्दै काठमाडौं उपत्यकासँगै नेपालको पहाडी भेगका लागि पहिलो अभिलेख गरिएको जानकारी दिएका छन् ।

नेपालमा पहिलोपटक गत वर्षको वैशाख अन्तिम साता राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिक देवराज जोशीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी तटीय क्षेत्रमा यो चरा देखेका थिए । उक्त चरालाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विज्ञहरूको टोलीले नेपालका लागि पहिलो भएको पुष्टि गरेको पन्छी अनुसन्धानकर्ता थाश्रेष्ठले जानकारी दिए ।

गौथलीझैँ देखिने, निधार र टाउकोमा कालो रङ तथा कालो पखेटाको मध्य भागमा सेतो रङ हुने र लामो दूरीसम्म उड्न सक्ने यो चरा भक्तपुरमा असार लागेपछि जोडी नै देखिएको उनले बताए । यो सँगै मनोहरामा पन्छीका करिब तीन सय प्रजाति अभिलेख भएका छन् ।

युरोप र पश्चिम एसियाका पानी कम पर्ने स्थान मरुभूमि आसपासका भेग र भारतको राजस्थान, पाकिस्तान, अफगानिस्तानका सुक्खा भेगमा लेसर ग्रे पाइने जानकारहरु बताउँछन् ।

एक महिनाअघि मनोहरामा ‘जल कुखुरा’ पनि देखिएको थियो । नेपालका अन्य भेगमा प्रायः नपाइने ‘ठूलो कस्दरी’ जलपन्छी २०७९ भदौमा, सोही वर्ष ७ भदौमा मनोहरामा सेतो पङ्खे फ्यालफ्याले र २०७८ असोज अन्तिम साता मनोहरा खोला किनारमा एक सय ९२ वर्षपछि पानी गौथली देखिएको अनुसन्धानकर्ता थाश्रेष्ठको भनाइ छ ।

तस्बिर : रासस