कोकिनको ट्रान्जिट नेपाल : १५ करोड ७६ लाखको साढे ४ किलो कोकिन बरामद

कोकिनको ट्रान्जिट नेपाल : १५ करोड ७६ लाखको साढे ४ किलो कोकिन बरामद


नेपाललाई ट्रान्जिट बनाएर ल्याएको ४ किलो ५ सय ४ ग्राम कोकिन बरामद गर्न प्रहरी सफल भएको छ । यो कोकिनको बजार मूल्य १५ करोड ७६ लाख रुपैयाँ हुन आउँछ ।

गत जेठ २७ गते फ्लाई दुवइको उडानबाट नेपाल आएका ६८ वर्षका तान्जानियन नागरिक डोनाल्ड ज्याक्सन माबुगालाई राजधानीको ठमेलमा रहेको एक होटलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । उनका साथमा १८ वटा कोकिनका क्याप्सुल थिए ।

उनी कोकिनलाई प्लास्टिक कोटेड गरिएका क्याप्सुलहरु इथियोपियाको अदिस अबाबा पुगेर निली नेपाल आएका थिए । अनुसन्धानका क्रममा उनका पेटमा थप क्याप्सुहरु रहेको बताएकोले नेपाल प्रहरी अस्पताल महाराजगंजबाट थप ५९ क्याप्सुल बरामद भएको लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख एसएसपी दिनेश आचार्यले जानकारी दिए । यो कोकिनको तौल १ किलो २ सय ६ ग्राम रहेको छ ।

यस्तै गत जेठ ३० गते इमेरट्सको उडानद्वारा ब्राजिल हुँदै काठमाडौं आएकी बोलिभियन नागरिक वर्ष ३३ कि लउरा क्रस टिकोनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको आगमन तर्फबाट नियन्त्रणमा लिएको प्रहरी जनाउँछ । उनीले फेन्सी कपडामा १ सय २१ वटा कोकिनका क्याप्सुल बरामद भए । यो कोकिनको तौल २ किलो १ सय ग्राम छ ।

यही असार १ गते कतार एअरको उडान द्वारा नेपाल आएका भेनेजुलियन नागरिक ३९ वर्षीय सिमोन एन्टोनिओ अल्फान्जो एक होटलमा बसिरहेको अवस्थामा फेला पारेर चेकजाँच गर्दा ९२ वटा क्याप्सुल फेला परेका र त्यसको तौल १ किलो १ सय ९८ ग्राम रहेको छ ।

यसरी बरामद भएका कोकिनका क्यासुलहरु डेलिभरी दिने क्रममा भारत मिजोरम बस्ने भारतिय नागरिक वर्ष २७ की लाल राउत साँगीलाई दुई दिनअघि ठमेलबाटै पक्राउ गरिएको ब्युरोले जनाएको छ । बरामद गरिएको कोकिन राउतले भारत लाने तयारी गरेकी थिइन् ।

प्रहरीले यसअघि ८ किलो ३ सय ग्राम कोकिन यसै वर्ष बरामद गरेको छ । यसको बजार मूल्य ३० करोड रुपैयाँभन्दा अधिक हुन्छ । साउथ अफ्रिकी देश मेक्सिको, भेनेजुएला, पेरुमा बनाइएको कोकिन नेपालबाट भारत पुग्ने र त्यहाँ केहीमात्रामा खपत हुने र बाँकी युरोपका देशसम्म पुग्ने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुको भनाइ छ । कोकिन एक ग्रामकै ३५ हजार रुपैयाँ बढी पर्छ । कोकिनका दुर्व्यसनीहरुले एक ग्राम कोकिनलाई ४/५ मात्रा बनाएर सेवन गर्ने गरेको बुझिएको छ । कोकाबाट कोकिन बन्छ ।

कोकिनको बजार नेपाल होइन । यो नेपालहुँदै भारत पुग्ने र त्यहाँ न्यूनमात्रामा खपत हुन्छ भने बाँकी विश्वका अन्य देशमा जाने गर्दछ । नेपालको लागुऔषधसम्बन्धी कडा कानुन नभएकोले विश्वका अन्य देशमा कोकिन पुऱ्याउने नेपाललाई ट्रान्जिटको रुपमा मात्र प्रयोग गरिँदै आएको पाइन्छ ।