पशुपतिनाथको भेटी चोरी प्रकरण : पाँच जनालाई थुनामा पठाउने आदेश

पशुपतिनाथको भेटी चोरी प्रकरण : पाँच जनालाई थुनामा पठाउने आदेश


पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरी गरेको अभियोगमा पक्राउ परेका ६ जनामध्ये पाँच जनालाई जिल्ला अदालत काठमाडौंले थुनामा पठाउने आदेश गरेको छ ।

उक्त अभियोगमा पक्राउ परेकामध्ये एक जना सत्यनारायण जोशीलाई धरौटीमा रिहा गर्ने र अन्य पाँच जना प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश न्यायाधीश कपिलमणि गौतमको इजलासले गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोषका प्रवक्ता रेवतीरमण अधिकारीले भनेका छन्, ‘पशुपतिनाथको भेटी चोरी प्रकरणमा सोधपुछका लागि प्रहरीले पक्राउ गरेका सत्यनारायण जोशीलाई मात्रै काठमाडौं जिल्ला अदालतलले धरौटीमा रिहा गर्ने आदेश गरेको र अन्य सबै प्रतिवादीलाई थुनामा पठाउने आदेश दिएको छ ।’

ज्ञातव्य छ, गत जेठ ७ गते पशुपतिनाथमा भेटी गणनाका क्रममा चोरी गरेको सिसिटिभी फुटेजमा देखिएपछि विकास कोषका नायब सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मण नवराज घिमिरे, सञ्जय कपाली, कुमार दमाईं र अनिल परियारलाई विकास कोषले प्रहरीलाई खबर गरी पक्राउ गरेको थियो । उक्त प्रकरणमा सत्यनारायण जोशीलाई चाहिँ सोधपुछका लागि भन्दै केही दिन ढिलामात्र प्रहरीले पक्राउ गरेको थियो । पशुपतिनाथ मन्दिरको भेटी चोरी गरेको खुलेसँगै प्रहरीवृत्त गौशालाले प्रतिवादीलाई हिरासतमा राखेर अनुसन्धान गरिसकेपछि मुद्दा अदालतमा पेस गरेको थियो ।