अन्तिम पुस्ता नबन्ने हो भने… !

अन्तिम पुस्ता नबन्ने हो भने… !


वर्तमान पुस्ता गज्जबको सङ्क्रमणबाट गुज्रिँदै छ । अदृश्य खुसीको निम्ति नागरिकता, मुलुक, धर्म, इमान, जमान, परम्परा, संस्कृति, नैतिकता, सिद्धान्त, विचार, पुर्खाको इतिहास त्याग्न हौसिएको वर्तमान पुस्ता वैश्ययुगको दलदलमा फस्दैछ । यो पुस्ताले आफूलाई जोगाउन गर्नुपर्ने धेरै कुरा छन् । दुर्भाग्यवश उसको पूर्व तयारी देखिएको छैन ।

हामीलाई प्रविधि चाहिन्छ, युट्युबर होइन । सोसल मिडिया चाहिन्छ, विज्ञापन होइन । सिप र ज्ञानमूलक शिक्षा चाहिन्छ, कहीँ नबिक्ने प्रमाणपत्र होइन । बैंक चाहिन्छ, ठग र सुदखोर होइन ! लघुवित्त चाहिन्छ, ढोके चोके असुलकर्ता होइन । नेता चाहिन्छ, दलाल वा बिचौलिया होइन । देशभक्त चाहिन्छ, विदेशी एजेन्ट होइन । शिक्षक चाहिन्छ, अभियन्ता होइन । मौलिकता चाहिन्छ, विदेशी ऐँजेरु होइन । दुर्भाग्यवश हामीलाई भिडाइएका सम्पूर्ण कुतत्वहरू अमृत होइनन्, विष हुन् भन्ने जान्दाजान्दै उपभोग गरिरहेका छौँ । जसले हामीलाई अन्तिम पुस्ता बनाउन सक्ने छ ।

हामी ग्राहक होइनौँ, उपभोक्ता हौँ । उपभोक्ताको मौलिक विचार हुन्छ । अधिकार हुन्छ । स्वास्थ्य हुन्छ । उसको वर्तमान हुन्छ । भविष्य हुन्छ । दुर्भाग्यवश विश्वपुँजीवादले आफ्ना नागरिकलाई ग्राहक बनाएको सिंहदरबारले टुलुटुलु हेरिरहेको छ । मुलुकवासीलाई फगत ग्राहकमा सीमित गर्दै अनुपयुक्त उत्पादन लिएर मुलुक प्रवेश गर्दा सरकार मूकदर्शक बनिरहेको छ । एक रुपैयाँ पर्ने सामानलाई १० रुपैयाँ लिएको हेर्दै ठगीमा सघाइरहेको छ । नागरिकको ठगीमार्फत आफ्नो कुर्सी जोगाएको छ । यस्तो तथाकथित शैली, कार्यक्रम, व्यवहार, विचार, नीति, सिद्धान्तलाई लोकतान्त्रिक राजनीति भनिरहेको छ ।

पानी घट्टदेखि आधुनिक मिलसम्म, माटोको हाँडीदेखि माइक्रो ओभनसम्म, हाँडीमा भुटेको मकैदेखि ‘पप कर्न’सम्म, उसिनेको गहुँदेखि तयारी चाउचाउसम्म, भैँसीदेखि मःमसम्म, राडीपाखीदेखि नरिवलको ‘म्याट्रेस’सम्म, खोसेलाको चकटीदेखि ‘मेमोरी फोम’सम्म, परालको गुन्द्रीदेखि आधुनिक गलैँचासम्म देखेको, भोगेको पछिल्लो पुस्ताले उपभोक्तावादसँग आत्मसमर्पण गरिसकेको छ । आधुनिकता र सम्पन्नताको खोजीमा नेपालीपन त्याग्न हौसिएको पछिल्लो पुस्ता डिप्रेसनको सिकार बन्दैछ । विगतमा भौतिक सम्पन्नताको मुख नदेखेको वर्तमान पुस्ता अभावमा खुसी थियो । अहिले तुलनात्मक रूपले सम्पन्न छ तर ‘खुसी’को अभावले छटपटिएको छ ।

वर्तमान पुस्ता विचित्रको जगमा बाँचिरहेको छ । उनीहरू ‘शिक्षा र स्वास्थ्य’ निःशुल्क हुनुपर्छ भन्ने मान्यतालाई रुचाउँछन् । सरकारले शिक्षा र स्वास्थ्यलाई निजी क्षेत्रको हातमा फुक्काफाल छोड्दा चुपचाप हेरिरहन्छन् । यो पुस्ता ‘कथा, भाषण र नेता’मा विश्वास गर्छ । सबैले देख्ने र सुन्ने गरी अन्धविश्वासको विरोध गर्छ । झुक्किएर हातले रुद्रीघण्टी छुँदा गाँड आउँछ भन्ने मान्दै हातलाई मुखले फुक्छ । निर्वाचनमा आँखा चिम्लेर मतदान गर्छ । सोसल मिडियामा आएर गुनासो र आक्रोश पोख्दै मस्तसँग निदाउँछ । आयातित ‘व्यवस्था र प्रणाली’लाई उपलब्धि मान्दै विजय जुलुस निकाल्छ । तत्काल प्रणालीको विरुद्ध तितो पोख्न हौसिन्छ । दिनभरि ‘विश्व बैंक र आईएमएफ’को कार्यक्रमहरू स्वीकार गर्छ । रात परेपछि आफू ठगिएको भन्दै सुत्छ । वैदेशिक ऋणको भारी बोक्छ । अतिरिक्त कर बुझाउँदै बिरामी र जीर्ण प्रणालीलाई बचाउन हौसिन्छ । बिग्रँदै गएको सामाजिक सूचक हेरेर नेता र भाग्यलाई दोष दिन्छ ।

वर्तमान पुस्ता ऋण काढेर घिउ खाने कुराको वकालत गर्छ । छोराछोरीलाई महँगो विद्यालयमा पढाउन हौसिन्छ । ठगिएको महसूस गरिरहन्छ । छोराछोरी विदेश पठाउन मरिहत्ते गर्छ । अमेरिका, अस्ट्रेलियाको भिसा लागोस् भन्दै मनकामना, पशुपतिनाथ र पाथीभरा दर्शन गर्न जान्छ । तुरुन्त छोराछोरी विदेश गए भन्दै सरकारलाई गाली गर्छ । पुँजीवादी आर्थिक नीति अपनाउनेहरूलाई वारेस बनाउँछ । समाजवादको सपना देख्छ । फजुल खर्च गर्छ । धान्न नसकिने भयो भन्दै आँसु बगाउँछ । आमूल परिवर्तन खोजिरहन्छ । परिवर्तनको नाममा पटक-पटक ठगिएको भन्दै ठगहरूको जय-जयकार गरिरहन्छ ।

मुलुक भत्काउनेको हातमा सिंहदरबार सुम्पेर पछिल्लो पुस्ता सिर्जनाको खोजीमा निस्केको छ । शिक्षा समाप्त गर्दै प्रमाणपत्रको व्यापार गर्नेलाई मुक्तिदाता ठान्दै छ । वर्तमान ध्वस्त बनाएर भविष्यको व्यापार गर्नेलाई समृद्धिको ठेक्का दिएको छ । तथाकथितलाई सत्ता सुम्पेर ‘ठगीमा परियो’ भन्दै वर्तमान पुस्ता रुँदैछ । यौनशोषण र बलात्कारको कथा लिएर सोसल मिडिया फोहोर गरिँदैछ । सरकार नालायक छ भन्ने बुझ्दाबुझ्दै गैरकानुनी बाटोबाट युवा विदेश जाँदैछ । आफू ठगिएको या चर्को शोषणमा परेको भन्दै सरकारप्रति घृणा पोख्दैछ । सङ्कटमा परेको पछिल्लो पुस्ताले भर्खरै थाहा पाउँदैछ, मुलुकमा पद र कुर्सी बिक्रीमा छ । पटके परिवर्तनपश्चात् तुच्छ कुर्सीका भोकाहरू समाजवाद त्यागेर ‘मसाजवाद’मा पुग्दैछ ।

मुलुकमा भ्रष्ट, नालायक, दलालहरूको अन्तिम भोज चलिरहेको छ । नागरिकको सामान्य बचतसमेत फिर्ता गर्न नसक्ने नालायकहरू सत्तामा बसिरहेका छन् । ठगहरूको संरक्षण गर्ने कथित लोकतन्त्र र तथाकथित परिवर्तनको स्वादले सर्वसाधारण नागरिक वाक्कदिक्क भएका छन् । ‘मेरोविरुद्ध कुनै उजुरी छैन, कास्कीमा परेको केवल ठाडो निवेदन मात्र हो, जसको अनुसन्धान गर्न जरुरी छैन’ भन्ने शासनमा ठाडो निवेदनसमेत गायब पारिएको छ । नागरिकको खर्बौं ठगी भएको छ । ठगहरूको संरक्षणमा स्वयम् राज्यसत्ता लागेको छ । जसको विरुद्ध ठगीको आरोप लागेको छ उसैलाई मुलुकले गृहप्रशासन जिम्मा लगाएको छ । यस्तो दुर्भाग्यपूर्ण राजनीतिलाई ‘अवस्था परिवर्तन’ भनिएको छ ।

राजनीतिक नाराको अस्तव्यस्तताले मुलुक डुब्दैछ । राजनीतिक दलसँग रचनात्मकता समाप्त पारिएको छ । मुलुकबाट विवेक हराउँदै छ । ज्ञान मर्दैछ । चुनावी पद्धतिले सिर्जनात्मकता र विवेकको हत्या गरेको छ । गरिबको भविष्य खोस्नेहरू राजनीतिमा चम्किरहेका छन् । राजनीतिको नाममा उदाएका अभिजात वर्गले युवायुवती र नागरिकको अवसरलाई रोकेको छ, खोसेको छ । प्रणालीमा ‘मुलुक र पुँजी’को गठबन्धन हुन्छ । जसले बृहत् सामाजिक व्यवस्थालाई टिकाएको हुन्छ भन्ने सामान्य सिद्धान्तसमेत नबुझ्नेहरूको कब्जामा परेको कथित राजनीतिले पछिल्लो पुस्तालाई लोप बनाउन मरिहत्ते गरिरहेको छ ।

चोर, ठग, भ्रष्टाचारी, देशद्रोही, षड्यन्त्रकारी, तस्करहरूको निम्ति स्वर्ग बनेको आयातित लोकतन्त्र नेपाल र नेपालीको दुर्भाग्य बनिरहेको छ । विदेशीको ‘सफ्टवेयर’ हालेर तयार गरिएको व्यवस्था र संसदीय प्रणालीमा उनीहरूको आकाङ्क्षा प्रतिबिम्बित भएको चलाखीपूर्वक लुकाइएको छ । ‘शहीद’को खेती गर्दै ल्याइएको आयातीत उपलब्धिले आम नागरिकलाई जिउँदै ‘शहीद’ बनाउँदै छ । ‘जमिन र प्राकृतिक स्रोत’माथि कब्जा जमाएको शक्तिले राजनीतिको प्राण लिन सफल भएको छ ।

आफ्नै प्रतिष्ठा, विचार, नीति, सिद्धान्तको ‘क्युरेट’ गर्दै मुलुक बरबाद गर्न दिनरात एक गरिरहेका सोकल्ड लिडरसिपबाट मुलुक बन्दैन भन्ने पुष्टि भइसकेको छ । आउनै नहुने कथितहरू राजनीतिमा चम्किँदा मुलुकवासीले दुःख पाए । मुलुकले विकास र समृद्धि देख्नै पाएन । धर्मछाडाहरू सफल भए । भीडलाई सडक कब्जा गर्न लगाइयो । आश, त्रास र आतङ्क मच्चाइयो । नागरिकलाई सपना देखाउँदै राजनीतिक उद्योग चलाउनेहरूले मार्क्सवाद, लेनिनवाद, प्रजातान्त्रिक समाजवाद, ‘जबज’को लिलाम गर्दै मुलुकवासीको विरुद्ध लागिरहे । देशभक्त नागरिकले परिवर्तन ठानिरहे ।

भनिन्छ, मुलुक असफल भएको ठाउँमा समुदाय र व्यक्तिको अराजकता चम्किने छ । उल्लेखित भनाइलाई प्रमाणित गर्न मुलुकले मरिहत्ते गरिरहेको छ । फलस्वरुप कल्याणकारी समाज स्थापना गर्न रोकेको तथाकथित शीर्ष नेतृत्वले नागरिकलाई मुलुक छोड्न बाध्य पारिरहेको छ । परिवारलाई बाँधेर राख्ने पितृवंशमा आधारित समाज भत्किँदैछ । गाउँको उत्पत्ति हराउँदैछ । शहर पुँजीवादको सिकार भएको छ । मानवता मारिएको छ । भ्रातृत्व समाप्त हुँदैछ । परिवार भत्किँदैछ । पारपाचुके सामान्य बन्दैछ । यसले नेपालीपन मार्दैछ । राजनीतिक र साम्प्रदायिक तापक्रम उकालो चढ्दैछ । पटके परिवर्तनपश्चात् नागरिकलाई आर्थिक र सामाजिक सुरक्षा प्रदान गर्न नसक्ने अवस्थामा सिंहदरबार पुगेको छ । मुलुकमा विचित्रको शून्यता उत्पन्न भएको छ ।

सीमान्तकृत समुदायले आफ्नो मुखपत्र सम्झेको सोसल मिडिया र ‘अर्जुनको गाण्डीव’ जस्तो डिजिटल प्रविधिले वर्तमान पुस्तालाई ग्राहक बनाइसकेको छ । डिजिटल प्रविधिमार्फत प्रचलित सामाजिक मूल्य मान्यतालाई भत्काउने दृष्टिकोण, गतिविधि र प्रक्रिया रणनीतिक ढङ्गले चलाइएको छ । ‘डिजिटल पहुँच र डिजिटल स्वतन्त्रता’ले अशिक्षित समाज र व्यक्तिलाई मानसिकरूपले आक्रमण गरिरहेको छ । जसलाई प्रयोगकर्ताले बरबाद नभएसम्म बुझ्न सक्दैन ।

उल्लेखित घटनाहरूले पुष्टि गरिसकेको छ । असफल नेतृत्वले वर्तमान पुस्ताको सुरक्षा र संरक्षण गर्न सक्दैन । साथै कथित नेतृत्वले युवा पुस्तालाई मुलुकमै भविष्य छ भन्ने विश्वास दिलाउन पनि सक्दैन । यस्तो विडम्बनापूर्ण अवस्थामा विश्वभर फैलिएका नेपालीले नेपालीपन जोगाउन डिजिटल प्रविधिको सकारात्मक उपयोग गर्नुपर्नेछ । अन्तिम पुस्ता नबन्ने हो भने पुर्खाद्वारा निर्मित इतिहास जोगाउन सोसल मिडियाको सकारात्मक प्रयोग गर्नुपर्नेछ । नागरिकता त्यागेका वंशज नागरिकका सन्तानलाई स्वतः नेपाली बनाउने संवैधानिक र कानुनी व्यवस्थाको अभियान चलाउनुपर्नेछ । नेपाली सिप र ज्ञानको संरक्षण रणनीति सुरु गर्नुपर्नेछ । इकोसिस्टमलाई जोगाउनुपर्नेछ । स्थानीय समुदाय र युवा वर्गलाई नीति निर्माण प्रक्रियामा समावेश गर्नुपर्नेछ । अमूल्य परम्परागत ज्ञान र वातावरण जोगाउन युवा पुस्तालाई ‘माटो र देशभक्ति’सँग जोड्नुपर्नेछ । अन्यथा वंशज नेपाली नेपालमै डाइनोसर बन्ने छ ।

www.pandeydipendra.com.np