नेविसङ्घका संस्थापक वीरेन्द्रभक्त श्रेष्ठको निधन

नेविसङ्घका संस्थापक वीरेन्द्रभक्त श्रेष्ठको निधन


नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)का संस्थापक एवम् प्रजातान्त्रिक आन्दोलनका योद्धा वीरेन्द्रभक्त श्रेष्ठको निधन भएको छ ।

विसं २०१८ देखि नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील श्रेष्ठको निधनप्रति नेपाली कांग्रेसको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार (७ असार) शोक विज्ञप्ति जारी गरी गहिरो दुःख व्यक्त गरेका छन् ।

त्रिभुवन विश्वविद्यालय विद्यार्थी युनियनको पूर्वअध्यक्षसमेत रहेका श्रेष्ठ नेविसङ्घको संस्थापक थिए । विसं २०४९ मा समाज कल्याण परिषद्को उपाध्यक्ष भएर काम गरेका श्रेष्ठ पार्टी र सामाजिक क्षेत्रमा क्रियाशील थिए ।

सम्पदा संरक्षणको क्षेत्रमा उल्लेखनीय योगदान पुऱ्याएका श्रेष्ठले विसं २०७२ को भूकम्पपछि काठमाडौंको काष्ठमण्डप पुनर्निर्माणका लागि अभियान चलाएका थिए । राजनीतिक र सामाजिक रुपान्तरणका पक्षमा दृढ अठोटका साथ उभिने सांस्कृतिक जागरणका अभियन्ता श्रेष्ठले नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनका क्रममा निर्वाह गर्नुभएको सक्रिय भूमिकाको कांग्रेसले सधैं स्मरण गर्ने बताएको छ । श्रेष्ठको निधनबाट कांग्रेसले प्रजातान्त्रिक आन्दोलनका एक अथक योद्धालाई गुमाएको मुख्यसचिव पौडेलले जनाएका छन् ।

श्रेष्ठको निधनप्रति कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।