५४ वर्षअघि नारायण गोपालले लेख्नुभएको त्यो पत्र

५४ वर्षअघि नारायण गोपालले लेख्नुभएको त्यो पत्र


वि.सं. १९९६ असोज १८ गते काठमाडौंको किलागलमा जन्मनुभएका नारायण गोपाल नेपालको सर्वाधिक चर्चित गायकमा पर्नुहुन्छ । बुबा आशागोपाल र आमा राममाया गुरुवाचार्यका नौ सन्तानमा वहाँ दोश्रो हुनुहुन्थ्यो । २०१६ सालमा एसएलसी पास गर्नुभएका नारायण गोपालको परिवार खानदानी तथा उच्च जातका हुँदा बुबा अलि कडाइ गर्नुहुन्थ्यो । बुबा शास्त्रीय संगीतप्रेमी भएको हुँदा छोराले पनि शास्त्रीय संगीतमा रुचि रहोस् भन्ने चाहना गर्नुहुन्थ्यो । बुबाकै लहडमा शास्त्रीय संगीत अध्ययन गर्न बडोदा (भारत) जानुभयो । बडोदामा संगीतमा गहिरिनुभन्दा चुरोटको लतले संगीतमा रुची घट्न थालेको थियो ।

उता दार्जिलिङ सुकियापोखरीकी पेमाला गायक नारायण गोपालको अति नै प्रशंसक थिइन् । दुईबीच पत्राचार पनि भइसकेको थियो । नारायण गोपालले पेमाला केवल प्रशंसकमात्रै नरहेर आफूलाई प्रेम गर्न थालिसकेको पनि चाल पाइसकेका थिए । यसैले उनिसँग भेट्ने चाहना भित्रभित्र जागिसकेको थियो । यही बहानामा २०२१ सालमा नारायण गोपाल बडोदाबाट छुट्टीको मौका मिलाएर दार्जिलिङ जानुभयो । दार्जिलिङमा नगेन्द्र थापाकोमा पुग्नुभयो । नगेन्द्र थापाले नै पेमालासँग भेट गराइदिएका थिए । शुरुमा त पेमालाले नगेन्द्र थापालाई नै नारायण गोपाल ठानेका थिए । यो आभास पाएका नगेन्द्र थापाले नारायण गोपाललाई चिनाइदिए । यही समय गोपाल योञ्जन पनि नजिक भए । २०२१ को चैतमा दार्जिलिङको महाकांल डाककडामा इश्वर बल्लभ, नगेन्द्र थापा, गम्भीर योञ्जन साक्षी रहेर मकलको आगोमा हात राख्दै गोपाल योञ्जनसँग मित लाउनुभएको थियो ।

मीत लगाए पछि वहाँहरुले मीतज्यू नाइटको कार्यक्रम काठमाडौंदेखि दार्जिलिङसम्म भव्य रुपमा सम्पन्न गर्नुभयो । आफ्ना प्रशंसक रहेकी पेमाला लामासँग २०२७ साल फागुनमा दार्जिलिङमा बिहे गर्नुभयो । बिहेपछि लामा बुहारीलाई लिएर बुबाआमा सामु जान हच्कनुभयो । जातपातमा कट्टर बुबासामु जान आँट नआएपछि साथीहरूसँग कहाँ गएर बस्ने भन्नेमा छलफल भयो । भूपी शेरचनको सेतो दरबारमा कोठाहरु खाली थिए । त्यसैले उनैको अनुरोधमा वहाँकै घरमा बस्ने गरि पोखरा पुग्नुभयो ।

पेमालाका लागि स्थानीय कन्या स्कुलमा पढाउने जागिरको तय पहिल्यै गरिसकेको थियो । यसर्थ पोखरा पुग्नासाथ पेमालाले स्थानीय कन्या स्कुलमा होम साइन्स विषय पढाउन थाल्नुभयो । नारायण गोपाल भने केही दिन बेरोजगार नै रहनुभयो । पछि अमरसिंह स्कुलमा संगीतको कक्षा थालनी गरेर संगीतको शिक्षकका रुपमा जागिरे हुनुभयो । पोखरामा नारायण गोपाल तथा पेमालाको दिन कठिनसँग बित्न थालेको थियो ।

पोखरा बसाइ क्रममा नै नारायण गोपालले बुबा-आमालाई पत्र लेख्नुभयो । आमाबुबाको यादले सताएको तथा क्षमा माग्नुभएको थियो ।

७/८ महिनाको बसाइपछि पोखरामा बस्न कठिन भएपछि काठमाडौं लाग्नुभयो । साथीहरुको सहयोगमा नारायण गोपालले नाचघरमा जागीर पाए भने पेमालाले भारतीय एउटा जीवन विमा कम्पनीमा जागीर पाइन् ।

विवाह पछि पेमाला गर्भवती भएकी थिइन् तर गर्भको बच्चादानी भन्दा बाहिर रहेको हुँदा डाक्टरले अप्रेसन गरेर बच्चा फ्याँक्ने सल्लाह दिनुभयो । नारायण गोपालले पनि गर्भको बच्चा भन्दा पेमाला प्यारो भएको हुँदा बच्चा फ्याँक्न मञ्जुरी दिनुभयो । त्यस अप्रेसनपछि पेमाला गर्भवती हुन सक्नुभएन । यसरी वहाँहरु निसन्तान हुनुभयो ।

जीवनको उतारचढाव पछि २०४७ मंसीर १९ गते वीर अस्पतालमा नारायण गोपालको स्वर्गारोहण भयो भने २०६१ सालमा पेमालाको पनि स्वर्गारोहण भयो ।