त्रिभुवन विश्वविद्यालय : जग्गा खोज्ने काममा खट्यो समिति

त्रिभुवन विश्वविद्यालय : जग्गा खोज्ने काममा खट्यो समिति


  • सुरेन्द्र सुवेदी, काठमाडौं

त्रिभूवन विश्वविद्यालय (त्रिवि)को जग्गा हडपेर कब्जा गरिएको र सेटिङ मिलाएर व्यक्ति तथा संस्थाका नाममा लगिएको जग्गाको खोजविन सुरु भएको छ । पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित ‘त्रिभूवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति छानविन समिति’ले त्रिविको जग्गादेखि अन्य पूर्वाधारका सम्पत्तिको खोजविन सुरु गरेको हो ।

मन्त्रिपरिषद्ले गत जेठ १७ गते यो समिति बनाउने निर्णय गरेको थियो । समितिलाई तीन महिनाको समयसीमा तोकिएको छ भने समितिले गत जेठ ३१ गतेबाट काम थालेको समिति संयोजक त्रितालले घटना र विचारलाई बताए ।

संयोजक त्रितालले भने, ‘हामीले भरखर काम थालेका छौँ, त्रिविसित पत्राचार गरेर जग्गा र सम्पत्तिको विवरण माग गरेका छौँ, गोरखापत्रमा सूचना प्रकाशन गरेर जानकारहरुसित त्रिविका जग्गा र सम्पत्तिको विवरण भएमा उपलब्ध गराउन पनि भनेका छौँ, अर्थात् समग्रमा काम थालिएको छ ।’

त्रिविसँग २९ हजार ७१ रोपनी जग्गाको स्वात्विमा छ । त्योमध्ये कति रोपनी क-कसले कब्जा गरे त्यसको रेकर्ड छैन । समितिले सबै जग्गा र सम्पत्ति खोजेर सरकारलाई प्रतिवेदन बुझाउने कार्यादेश पाएको छ । समितिमा त्रिविको तर्फबाट प्राडा प्रेमसागर चापागाईं, महेन्द्रकुमार थापा, जानकीवल्लभ अधिकारी सदस्य र समितिकिो सदस्य-सचिवमा उपसचिव सुशीला अधिकारी रहेका छन् । समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरबारलाई सचिवालय बनाएर काम सुरु गरेको छ ।

स्रोतहरूका अनुसार त्रिविका जग्गा र सम्पत्ति वर्षौंदेखि भोग चलन गर्दै आएका तर फिर्ता गर्न आनाकानी गर्नेमा ल्याबोरेटोरी माध्यमिक आवासीय विद्यालय, राधास्वामी सत्संग, गणतन्त्र स्मारक, बिपी प्लानेटोरियम, खानेपानी संस्थान, आयुर्वेद अनुसन्धान केन्द्रलगायत रहेका छन् । त्रिविको केन्द्रीय कार्यालय कीर्तिपुरमा मात्रै ३ हजार ६१३ रोपनी जग्गाको लालपुर्जा छ । स्रोत भन्छ, ‘त्रिवि कीर्तिपुरमा रहेको जग्गामध्ये करिव एक तिहाइ अर्थात १ हजार रोपनीबढी संस्था तथा व्यक्तिहरूको कब्जामा छ ।’

स्रोतहरुका अनुसार कीर्तिपुर नगरपालिकाले सडक निर्माण गर्दा त्रिविको केही जग्गा मिचेको स्थानीयहरु बताउँछन् । र, सरकारीस्तरबाटै ‘प्रलोभन’मा परेर विचौलिया, मन्त्री र कर्मचारीहरुले सस्तो भाडामा निर्णय गराएर त्रिविको जग्गा संस्था, व्यक्तिहरुलाई दिएको जानकारहरुको भनाइ छ ।