सर्वोच्च अदालतका ‘चण्डी’ !

सर्वोच्च अदालतका ‘चण्डी’ !


  • सुरेन्द्र सुवेदी, काठमाडौं

अवकास भएको ८ वर्ष बितिसक्दा पनि एक पूर्व प्रधानन्यायाधीशद्वारा न्यायालयको नियमित काममा हस्तक्षेप भइरहेपछि न्यायिक पक्रियामा निक्कै कठिनाइ उत्पन्न हुने गरेको छ ।

बागलुङका कल्याण श्रेष्ठ २०७२ चैत ३० गते सर्वाेच्च अदालतको प्रधानन्यायाधीशबाट सेवा निवृत्त भएका थिए । त्यसयता सुशीला कार्की, गोपाल पराजुली, दिपकराज जोशी (कामु), ओमप्रकाश मिश्र, चोलेन्द्रशम्शेर जवरा, हरिकृष्ण कार्की पदमुक्त भइसकेका छन् । यी सबै पूर्व प्रधानन्यायाधीशले पदमुक्त भएपछि अदालतको काममा दखल दिने गरेका छैनन् । तर, कल्याण श्रेष्ठले नियमित रुपमा अदालतमा चियोचर्चो गर्ने, मुद्धा हेरेर प्रभावित गर्ने काम गरिरहेको चर्चा सर्वाेच्च परिसरमा चल्ने गरेको छ ।

खासगरी राजनीतिक प्रकृतिका मुद्धामा उनले हस्तक्षेप गर्दै आइरहेका छन् । सर्वोच्च अदालतका डेढ दर्जनबढी न्यायाधीशहरुमध्ये करिव आधा दर्जनलाई आफ्नो प्रभावमा राखेर आफ्नो इच्छापूर्ति गर्दै आएका छन् । पूर्व न्यायाधीशहरुले स्थापना गरेका मञ्च तथा समाजमार्फत वक्तव्य जारी गराएर आफ्नो पक्षमा दवाव दिने कार्य पनि श्रेष्ठले गर्दै आएका छन् ।

यतिसम्मकि मुद्धा हेर्ने न्यायाधीश छनोट गर्न गरिने गोला प्रथापछि कुन मुद्धा कुन न्यायाधीशकोमा परेको छ, त्यो श्रेष्ठलाई तत्काल जानकारी हुने संयन्त्र नै बनाएका छन् । सर्वाेच्चका ६ जना न्यायाधीशले कल्याणको इसारामा पक्षमा काम गर्दै आएको (पदीय हैसियतका कारण ती न्यायाधीशको नाम उल्लेख नगरिएको) । कतिपय मुद्धामा आफैँ फैसला लेखेर प्रारम्भिक मस्यौदा पठाउने गरेको चर्चा पनि न्यायिक क्षेत्रमा चल्ने गरेकोछ ।

नेपालका उद्यमी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा चण्डी ढकाल नामक एक व्यक्तिले अध्यक्ष भएर कार्यकाल बिताए । त्यसपछि पनि धेरै व्यवसायीहरु अध्यक्ष भएर कार्यकाल पूरा गरे । ती सबै त्यहाँबाट विदा भएर गएपछि आफ्नो व्यापार व्यवसायमा लागिरहेका छन् । तर, ढकाल नामक व्यक्ति भने उद्योग वाणिज्य महासंघभित्र वर्षौंदेखि खेलोफड्को गरिरहेका छन् । जसबाट महासंघको प्रतिष्ठा नै खस्किँदै गएको ठानिन्छ ।

न्याय क्षेत्रमा हिजोआज श्रेष्ठलाई सर्वोच्च अदालतका ‘चण्डी’ भनेर चिनिने गरिएको छ ।