मुख्यसचिव डा. अर्याल ‘भ्रष्टाचारी’ : निमित्त मुख्य सचिव लीलादेवी गड्तौला

मुख्यसचिव डा. अर्याल ‘भ्रष्टाचारी’ : निमित्त मुख्य सचिव लीलादेवी गड्तौला


  • सुरेन्द्र सुवेदी, काठमाडौं

नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल भ्रष्टाचारी भएको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरेको छ । आइतबार मुख्यसचिव डा. अर्यालविरुद्ध मुद्धा दायरसँगै उनी स्वतः निलम्बनमा परेका छन् ।

देशका मुख्यसचिवविरुद्ध बहालमा रहेकै अवस्थामा भ्रष्टाचार मुद्धा परेको यो नै पहिलो हो ।

मुख्य सचिव डा. अर्याल निलम्बनमा परेपछि वरिष्ठतम् सचिव लीलादेवी गड्तौला निमित्तसचिव भएकी छन् । नेपाल सरकारका सचिवहरुमध्ये गड्तौला सबैभन्दा सिनियर हुन् ।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिएअनुसार अन्तःशुल्क स्टीकर छपाइ खरिद प्रकरणमा भ्रष्टाचार गरेको अभियोगमा मुख्यसचिव डा. बैकुण्ठ अर्यालसहित ११ जना कर्मचारी र एउटा कम्पनी तथा त्यसका निर्देशकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा जनही रु ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० बिगो माग दाबीसहित मुद्दा दायर गरिएकाहरूमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रहेका बेला सुरक्षण मुद्रण विकास समितिका तत्कालीन अध्यक्ष (हाल मुख्यसचिव) डा. अर्यालसहित, आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक एवं हाल अर्थसचिव रितेशकुमार शाक्य, सोही विभागका तत्कालीन उपमहानिर्देशक एवं हाल भन्सार विभागका उपमहानिर्देशक टङ्कप्रसाद पाण्डे, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल रहेका छन् । पौडेलविरुद्ध यसअघि पनि अख्तियारले सुरक्षण मुद्रण प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ ।

यस्तै, आन्तरिक राजस्व विभाग, सामान्य प्रशासन शाखा एवं खरिद इकाई तत्कालीन निर्देशक गणेश विक्रम शाही र तत्कालीन शाखा अधिकृत रविन्द्रप्रसाद पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन शाखा अधिकृत हरिवल्लभ घिमिरे, लेखा अधिकृत विष्णुप्रसाद गौतम र सोही केन्द्रका तत्कालीन खरिद विज्ञ शक्तिप्रसाद श्रेष्ठविरुद्ध मुद्दा दायर गरिएको हो । यसैगरी अन्तःशुल्क स्टीकर छपाइको ठेक्का पाएको कम्पनी प्रिन्टसेल र निर्देशक केशव शर्मालाई पनि प्रतिवादी बनाइएको छ ।