सजाय कति हुने भन्ने फैसला असार १७ गतेको इजलासले टुङ्ग्याउने
सर्लाही जिल्ला अदालतले रामबहादुर बम्जनलाई बालिकामाथि कसुर गरेको ठहर गरेको छ ।
सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले अभियुक्त बम्जनलाई ‘यौन सन्तुष्टि प्राप्त गर्ने तथा बालयौन शोषण’ मुद्दामा कसुदार ठहर गरेको हो ।
सरकारी वकिल कार्यालयले पेश गरेको अभियोजनअनुसार इजलासबाट बम्जनलाई दोषी ठहर गरिएको जानकारी दिँदै स्रेस्तेदार सदन अधिकारीले भनेका छन्, ‘आजको इजलासले बम्जनलाई बालिकामाथि कसुर गरेको ठहर गरेको छ, सजाय कति हुने भन्ने फैसला असार १७ गतेको इजलासले टुङ्ग्याउने छ ।’
अभियुक्त बम्जन हाल पुर्पक्षका लागि महोत्तरी कारागारमा रहेका छन् । फैसलापूर्व सोमबार (१० असार)को इजलासमा दुवैतर्फका वकिलले अन्तिम बहस गरेका थिए । बहसमा बम्जनको पक्षमा वरिष्ठ अधिवक्ता सीताराम केसी, अधिवक्ता राम घिमिरे, मनोहर झा, राष्ट्रविमोचन तिमल्सिना र दिलीप झाले बहस गरेका थिए ।
अभियोगबमोजिम कैद सजायको मागसहित जिल्ला सरकारी वकिल कार्यालय मलङ्गवाका प्रमुख जिल्ला न्यायाधिवक्ता कैलाश दाहालले बहस गरेका थिए ।
बारा जिल्लाको निजगढ नगरपालिका-१२ निवासी ३० वर्षीय बम्जनविरुद्ध २०७६ माघ २३ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा पीडित बालिकाको परिवारले किटानी जाहेरी दिएको थियो । न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले गत पुस २६ गते बम्जनलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो ।
प्रतिक्रिया