भारतीयले चिने नेपालले चिन्ने कहिले ?

भारतीयले चिने नेपालले चिन्ने कहिले ?


यदि इच्छाशक्ति दृढ, उद्देश्य र नियत असल हुन्छ भने सफलताले कदम चुम्न बेर लाग्दैन भन्ने कथनको एक जल्दोबल्दो उदाहरण बन्न पुगेका छन् बाँकेका प्रहरी उपरीक्षक विक्रमसिंह थापा । नेपालगञ्जवासीका लागि आँखाका नानीझैँ बन्न पुगेका उनी सीमापारिका व्यापारी–व्यवसायीका निम्ति समेत यतिबेला भरोसाका पात्र भएका छन् भने भारतीय मिडियामा उनी एक असली हिरोका रूपमा छाउन पुगेका छन् । ‘समाज के सुरमा निकले विक्रम सिंह’, ‘जनता की मजबुरी विक्रम बहुत जरुरी है उ’, ‘दिलों के दुलारे और नैनो के तारे हुए विक्रम सिंह’, ‘काश उ भारत में भी हो एक किता विक्रम उ’ जस्ता शीर्षकमा विक्रमसिंह भारतीय अखबार र विद्युतीय सञ्चारमाध्यममा छाएका छन् ।
पाँच वर्षअगाडिको नेपालगञ्जको कल्पना गर्ने हो भने देख्ने–भोग्नेहरूको आँखामा अहिले पनि अत्यन्त कहालीलाग्दो चित्र आउँछ । व्यापारी, उद्योगपतिहरू टेलिफोन रिसिभ गर्न डराउँथे । चन्दा दिनुपर्ने हो कि अपहरणमै परिने हो भन्ने त्रासले उनीहरूको पसिना छुट्थ्यो । अभिभावकहरू आफ्ना बालबालिकालाई स्कुल पठाउँथे तर फर्केर आउने हुन् कि होइनन् भनी दिनभर चिन्तामा डुब्थे । अपहरण, फिरौती असुली र हत्याजस्ता घटना व्याप्त थियो । अनेक नामधारी सशस्त्र समूहहरूको बिगबिगी त्यत्तिकै बढेको थियो भने चोरी–डकैती, तस्करी, धूमपान, मध्यपान तथा नसालु पदार्थ सेवन गर्नेहरू छ्यापछ्याप्ती फेला पर्थे, जसका कारण सामाजिक शान्ति–सुव्यवस्था नै खल्बलिन पुगेको थियो । सङ्गठित समूहद्वारा फैलाइएको जुवातासदेखि क्यासिनोजस्ता अवैधानिक र अशोभनीय धन्दाको नाजायज लाभ उठाउन सीमापारिबाट समेत धाउने प्रवृत्ति ह्वात्तै बढेको थियो । राजनीतिक कार्यकर्ताहरूसमेत खुलेर पार्टी सङ्गठनका काममा हिँडडुल गर्न सक्दैनथे । व्यापारिक प्रतिष्ठान, सार्वजनिक सङ्घ–संस्था, व्यक्तिका घर–आँगनदेखि राजनीतिक दलका कार्यालयमा समेत बम विस्फोट हुन्थ्यो । एकप्रकारले त्यहाँको सिङ्गो जनजीवन नै ‘दहसत’मा डुबेको, अर्थात् घोर त्रासको छायामा परेको थियो । तर, एसपी विक्रमसिंह थापाले बाँकेको प्रहरी–कमाण्ड सम्हालेको छोटो अवधिमै नेपालगञ्जको चित्र फेरिएको छ । र, यसरी अल्प समयमै एसपी थापाले विकृति–विसङ्गति, सामाजिक अव्यवस्था, तस्करी, कालाबजारी र अराजकताविरुद्ध हासिल गरेको सफलता जनताका लागि हर्ष, विक्रमजस्तै प्रहरी अधिकारीका लागि प्रेरणा र सिङ्गै देशका लागि गर्वको विषय बन्न सक्छ ।
लगभग तीन महिना भयो विक्रम बाँके जिल्ला प्रमुखका रूपमा नेपालगञ्ज खटिएका । त्यहाँ गएर सुरुमै एक पत्रकार सम्मेलनमार्फत उनले भनेका थिए, ‘मेरो पहिलो प्राथमिकता जिल्लामा शान्तिसुरक्षा कायम राख्नु र तराईमा फैलिएको भूमिगत सशस्त्र समूहको समाजविरोधी गतिविधिलाई नियन्त्रण गर्नु नै हुनेछ ।’ नेपालगञ्जजस्तो स्थानमा बसेर त्यस्तो घोषणा गर्नु आफैंमा दुस्साहसपूर्ण र चुनौतीयुक्त विषय थियो । सञ्चारकर्मी तथा स्थानीय जनताले उनको उद्घोषलाई गम्भीर रूपमा लिएनन् । किनकि, त्यहाँको वस्तुस्थिति बुझेका र विगतमा पनि प्रहरी प्रशासनले चाहेर पनि प्रभावकारी काम दर्शाउन नसकेको अनुभूति सङ्गालेका स्थानीयवासी नयाँ एसपीले घोषणा गरेअनुसार काम देखाउन सक्लान् भन्ने विश्वास गर्न सकिरहेका थिएनन् ।
यतिबेला नेपालगञ्जमा सार्वजनिक स्थलमा मानिस सिगरेट पिउन हच्किन्छन् । कतै प्रहरीको आँखा परिरहेको त छैन भनी अम्मलीहरू चौकन्ना रहन्छन् । सर्सरी सुन्दा साधारण कुराझैँ लागे पनि यो सामान्य विषय होइन । र, यस्तो असामान्य र जनताको स्वास्थ्यसँग जोडिएको संवेदनशील विषयलाई महŒव दिँदै अनि ‘राज्यकै घोषणा’लाई पहिलोपटक नेपालगञ्ज (बाँके)बाट लागू गराउने सत्प्रयास गरेर एसपी विक्रमसिंह थापाले नेपालगञ्जको मात्र नभई सिङ्गै प्रहरी सङ्गठनको पनि शिर उच्च गराइदिएका छन् भन्दा अत्युक्ति नहोला ।
चौतर्फी आवाज उठेपछि एक वर्षअघि नेपाल सरकारले धूमपान निषेधसम्बन्धी कानुन संसद्बाट पास गराएको थियो । सो कानुनअनुसार सार्वजनिक स्थल, शैक्षिक संस्था, सार्वजनिक यातायात, अस्पताल, व्यावसायिक प्रतिष्ठान आदि स्थलमा धूमपान गर्न सख्त निषेध गरिएको छ । तर, यसलाई कार्यान्वयन गराउन भने मुलुकका जिम्मेवार निकाय वा अधिकारीहरू हच्किएका देखिन्छन्, कोही हिम्मत नै गर्दैनन् । यसरी राज्यले सार्वजनिक स्थानमा धूमपान गर्न निषेध गर्ने कानुन बनाएर पनि कार्यान्वयनमा कुनै चासो देखाएन । सुर्तीजन्य उत्पादनहरूबाट सरकारलाई ठूलो मात्रामा राजस्व प्राप्त हुने र सम्बन्धित उद्यमी–व्यवसायीहरूको दबाब थेग्न नसकेर सरकार यसरी उदास बनेको हुन सक्छ । तर, धूमपान एवम् घातक ड्रग्स सेवनादिबाट प्रभावित व्यक्तिको उपचारलगायतका कार्यमा राज्यको ठूलो धनराशि खर्च हुने तथ्यप्रति कसैको ध्यान पुग्न नसक्नुचाहिँ विडम्बनाको विषय हो ।
जथाभावी सङ्कल्प नगर्ने तर गर्छु भनेर आँटेपछि कुनै पनि चुनौतीको सामना गर्न डटेर लागिपर्ने हक्की स्वभावका धनी विक्रमसिंहले एक महिनाकै अन्तरालमा ‘चमत्कार’ देखाए । क्विन्टलका क्विन्टल चरेसलगायतका नसालु पदार्थ बरामद गरेर उनले लागूऔषध तस्करहरूको कम्मर तोडे, ‘कि भगतसिंह छैन कि विक्रमसिंह’ भन्ने सार्वजनिक उद्घोष गरी ‘अपरेसन हन्ट’ अभियान चलाएर उक्त क्षेत्रको सीमा–वारपार नै आतङ्क फैलाइरहेका कुख्यात भगतसिंहलगायतका अपराधीहरूलाई नेपाल छोडेर भाग्न बाध्य पारे । बाँकेका हाट, बजार एवम् ग्रामीण क्षेत्रमा धूमपान, मध्यपान, जुवातासजस्ता विकृतिको अन्त्य गर्ने अभियानलाई यथार्थमा परिणत गरेर देखाउने काम असम्भवझैँ ठानिन्थ्यो । तर, दृढइच्छाशक्ति र सोचसमझका साथ अख्तियार गरिएको रणनीतिले उनलाई त्यस कठिन कार्यमा पनि सफलता दिलायो । स्थानीय स्कुल–कलेजका शिक्षक–विद्यार्थी एवम् जनसमुदायसँग मिलेर उनले एक महिनाअघि धूमपानविरुद्ध नेपालगञ्जमा विशाल एवम् भव्य ¥यालीको आयोजना गरे । ¥यालीलाई सम्बोधन गर्ने क्रममा विक्रमसिंहले भनेका थिए, ‘बाँकेका जनता, शिक्षक, विद्यार्थी, सञ्चारकर्मीहरूको साथ मिल्छ भने म विश्वास दिलाउन चाहन्छु कि त्यो दिन अब टाढा छैन जतिबेला बाँके धूमपानरहित जिल्ला कहलिनुका साथै घातक नसालु पदार्थ र अन्य कुरीति, विकृति–विसङ्गतिबाट मुक्त हुनेछ । बालबालिका, विद्यार्थी तथा आजका युवा वर्ग राष्ट्रका कर्णधार हुन्, यस वर्गलाई आदर्श नागरिकका रूपमा विश्वसामु प्रस्तुत गर्नु राष्ट्रको कर्तव्य हो, तसर्थ यिनलाई तमाम विकृति–विसङ्गतिबाट मुक्त तुल्याउनुपर्छ, अनि मात्र समाज र राष्ट्रको उन्नति हुन्छ ।’ जनचेतनामूलक उक्त ¥याली यति प्रभावकारी र प्रशंसनीय बन्यो कि अहिलेसम्म पनि त्यसको चर्चा चलिरहेको छ र विक्रमसिंहलाई नेपालगञ्जवासी छोड्नै नचाहने मनस्थितिमा पुगेका छन् ।