खानीखोलामा एसिड : मारुती र दुर्गा पेपलको ज्यादती

खानीखोलामा एसिड : मारुती र दुर्गा पेपलको ज्यादती


  • सुरेन्द्र सुवेदी, काठमाडौं

पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका-३१ र ३२ वडामा रहेका दुई वटा पेपर उद्योगले खानीखोलामा सोझै एसिड हालेपछि खोलामा अहिले सेतो पानी बग्न थालेको छ । खानीखोला वीरगञ्ज महानगरपालिका वडा ३१, मिलनचोकहुँदै बग्ने गर्छ । खानीखोला वीरगञ्जको ज्योति फारमस्थित लामा क्वार्टरनजिक रहेको कियासोतमा पुगेर वीरगञ्ज बजार हुँदै रक्सौल भारतको सीमा सरिस्वा खोलामा पुगेर मिसिन्छ । यो खोला नेपालतर्फ करिव १० किलोमिटर बग्छ ।

वीरगञ्ज-३१ र ३२ वडामा रहेका दिपेश अग्रवालले सञ्चालन गरेको मारुती पेपर र दुर्गा पेपर (कार्टुन र कागज) बनाउने उद्योगले खोलामा सोझै एसिड मिसाइदिएका हुन् । यसरी २०७२ सालदेखि निरन्तर खोलामा एसिड लगाएपछि खोला नै सेतो देखिएको छ । यहाँ कुनै पनि जीव छैनन् भने पानी कुनै पनि कामका लागि प्रयोग गर्न सकिन्न ।

स्मरण रहोस्, २०७२ सालअघि यो खोलामा गाइबस्तुलाई पानी खुवाउने गरिन्थ्यो । खेती गर्न किसानले पनि यो खोलाको पानी खाने गरेका थिए । यहाँ झिँगे, रहु समेतका अनेक प्रजातिका माछा पाइन्थे भने माछा मारेर सयौं परिवारले गुजारा गर्दै आएका स्थानीय सुरेश हजराले घटना र विचारलाई बताए ।

पर्सा जिल्ला प्रशासन र वीरगञ्ज महानगरपालिकाले खोलामा एसिड हाल्दा पनि कुनै कारवाही गरेको छैन । उद्योगबाट एसिड निस्कने जानकारी हुँदाहुँदै उद्योग सञ्चालन गर्न अनुमति दिने महानगरपालिका, प्रशासन कार्यालयसमेतका कर्मचारीलाई कारवाही गर्न स्थानीयको माग छ ।

‘ठूलो रकम खुवाएर उद्योग सञ्चालन गर्ने अनुमति लिने उद्योग सञ्चालक र रकम लिने कर्मचारीलाई कारवाही गर्नुपर्छ । खोलामा एसिड हालेर सयौं जलचर जीवको हत्या गर्नेमाथि हालसम्म कुनै कारवाही नहुनु खेदजन्य छ’, एक स्थानीय आक्रोश पोख्छन् ।

पेपर उद्योगमा रातमा टायर जलाएर बाइलट स्टार्ट गर्ने, प्लास्टिक जलाउनेदेखि कम्पनीबाट निस्कने धुँवाले गाउँघर नै धुवाले भरिने भइरहेको छ । यसले गाउँलेको स्वास्थ्यमा गम्भीर असर परिरहेको तर्फ सरोकारवालाको ध्यान जान स्थानीय माग गर्छन् ।