ज्योती समूहद्वारा वीरगञ्जमा २४ कठ्ठा सरकारी जग्गा कब्जा

ज्योती समूहद्वारा वीरगञ्जमा २४ कठ्ठा सरकारी जग्गा कब्जा


  • सुरेन्द्र सुवेदी, काठमाडौं

बारा र पर्सा जिल्लाको सीमाना सिमरा जितपुर उपमहानगरपालिका-२३, भलुहीँ टोलमा रहेको सरकारी जग्गा १ बिगाहा ४ कठ्ठा ज्योती समूहले कब्जा गरेको छ । यो जग्गाको हाल किनबेच मूल्य करिव १५ करोड रुपैयाँ हुन आउने स्थानीयको भनाइ छ ।

ज्योती समूहले कब्जा गरेको यो जग्गाबाट ज्योती फर्मा, हिमल आइरन उत्पादन कारखाना भएको वीरगञ्ज महानगरपालिका वडा ३२ मा पर्ने परवानीपुर चोर्नीचनौलीमा बिजुलीको लाइन लैजान पोल गाडेर तार पनि टाँगिएको छ । यस्तो काम उद्योगी भनेर चिनिने रुपज्योतीले गरेका हुन् । ‘रुपज्योतीले स्थानीय केही व्यक्तिलाई आर्थिक प्रलोभनमा पारेर सरकारी जग्गा नै कब्जा गरेका हुन्’- एक स्थानीयले घटना र विचारसित भने ।

यो सरकारी जग्गा कब्जा प्रकरणका उजुरी अहिले गृहमन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा परेका छन् । र, पनि यी मन्त्रालयले रुप ज्योतीबाट कब्जा भएको सरकारी जग्गा फिर्ता ल्याउने कुनै प्रयास गरेको पाइन्न ।

यो जग्गा २०७४ सालमा रुप ज्योती, तत्कालीन राप्रपाबाट सांसद रहेका राजीव पराजुली र ओमप्रकाश यादवले कब्जा गरेका थिए । त्यतिखेर नेपाल सरकारले त्यो जग्गा फिर्ता ल्याएको थियो । अहिले स्थानीय प्रशासन, प्रहरी, राजनीतिक दलका नेतासमेतको मिलेमतोमा पुनः यो जग्गा कब्जा गरेको गृह र भूमी व्यवस्था मन्त्रालयमा दिएको उजुरीमा उल्लेख छ । ‘बारा जिल्ला जितपुर उपमहानगरपालिका २३ को भलुही टोलको छेउ शिवमन्दिर हनुमान मन्दिर किरियापुत्री, मसानघाट र छठघाट भएको उक्त जग्गा ऐलेनी बाँझो रहेको र स्थानीयले संरक्षण गर्दै आएकोमा भूमाफियाहरुले उक्त जग्गा कब्जा गरेकोले दर्ता बदर गर्दै सरकारकै नाममा कायम गराइ पाऊँ’, बारा पर्सा शिव हनुमान मन्दिर किरियापुत्री र मसानघाट जग्गा संरक्षण संघर्ष समिति संयोजक ताराकुमारी रामले गरेको उजुरीमा उल्लेख छ ।

गत वैशाख २ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय (जग्गा प्रशासन) ले भूमि व्यवस्थापन तथा अभिलेख विभाग, बबरमहललाई पत्र लेख्दै सार्वजनिक जग्गा दर्ता भएको भए बदर गर्न निर्देशन दिएको छ । गत बैंशाख २ पछि पुनः यो जग्गा दर्ता गर्न भन्दै भूमाफियाहरु सक्रिय रहेको र यसको जानकारी बारा प्रशासन कार्यालयलाई लिखित गराएको बिरगञ्ज महानगरपालिका-३२, चोर्नीका स्थानीय रामआशिष पासवानले जानकारी दिए ।

दुई पटक यो जग्गामा बिजुलीको खम्बा र तार टाँग्न ज्योती फर्मका मेनेजर बाशु श्रेष्ठको टोली जेसिभी पनि लिएर पुगेको थियो । त्यो टोलीलाई स्थानीयले जेसिभी फिर्ता पठाउँदै, पोल गाड्न खनिएका खाडल पुर्न लगाएर फिर्ता पठाएका थिए । तेस्रो पटक रातको समयमा पूर्वतर्फबाट खम्बा गाड्दै आएका छन् । र, यहाँ अहिले पनि खम्बा गाड्ने काम भइरहेको पासवानले घटना र विचारलाई बताए ।