आगामी माघ १ देखि घरजग्गा कारोबार गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य

आगामी माघ १ देखि घरजग्गा कारोबार गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य


सरकारले घरजग्गा खरिद बिक्री गर्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै आगामी माघ १ गतेदेखि घरजग्गा किनबेचमा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको हो ।

अहिले क्रेता र बिक्रेताको नागरिकताबाट घरजग्गाको राजीनामा पास र लिखत पारित हुँदै आएको भए पनि माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रलाई सबै निकायतिर कार्यान्वयनमा ल्याउने उद्देश्य बमोजिम घरजग्गा किनबेचमा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराइले जानकारी दिएका छन् ।

‘सरकारले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६ को दफा ३ र १० को प्रयोजनका लागि राष्ट्रिय परिचयपत्रको प्रयोग सम्बन्धमा गरेका निर्णय समेटेर गृह मन्त्रालयले राजपत्रमा सार्वजनिक सूचना प्रकाशन गरेको छ, अब घरजग्गा किनबेचमा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य पेस गर्नुपर्नेछ’, प्रवक्ता भट्टराईले भनेका छन् ।

मन्त्रालयले माघ १ देखि बैंकिङ तथा वित्तीय सेवा, सामाजिक सुरक्षा कोष र घरजग्गा किनबेचसम्बन्धी सेवाका लागि पनि राष्ट्रिय परिचपयत्र अनिवार्य गरेको छ । विभिन्न जिल्लामा लागू हुने गरी सामाजिक सुरक्षा, स्वास्थ्य बीमा, निवृत्तीभरण, राजस्व (व्यक्तिगत आयकर दर्ता), सवारी चालक अनुमतिपत्र, कम्पनी दर्ता तथा नवीकरणसम्बन्धी सेवा प्राप्त गर्न आगामी साउन १ देखि नै राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता भट्टराईको भनाइ छ ।

गृह मन्त्रालयले जारी गरेको सूचनाअनुसार आगामी माघ १ गतेदेखि सिमकार्ड लिन पनि राष्ट्रिय परिचयपत्र अनिवार्य पेस गर्नुपर्ने भएको छ । सरकारी निकाय, संस्था तथा निजी क्षेत्रबाट प्रवाह गरिने सार्वजनिक सेवा सुविधा प्राप्त गर्न अब नागरिकता प्रमाणपत्रको सट्टा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचय नम्बर पेस गर्नुपर्ने भएको छ ।

file photo: rss