कोशी, बागमती र गण्डकीका केही स्थानमा धेरै पानी पर्ने पूर्वानुमान

कोशी, बागमती र गण्डकीका केही स्थानमा धेरै पानी पर्ने पूर्वानुमान


हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणदेखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको जनाएको छ ।

विभागका अनुसार शुक्रबार (१४ असार) कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने मधेस प्रदेशका एक/दुई स्थानमा भारी वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने छ ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुने तथा कोशी र गण्डकी प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

यसैगरी, आज राति देशभर साधारणदेखि पूर्णतया बदली रहने छ । बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा केही बढी वर्षाका साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा निकै वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी-पहिरोको जोखिमबाट बच्न तथा त्यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।