ट्राफिक प्रहरीको विशेष चेकिङ : पैंतिस चालक कारवाहीमा

ट्राफिक प्रहरीको विशेष चेकिङ : पैंतिस चालक कारवाहीमा


  • सुरेन्द्र सुवेदी, काठमाडौं

लापसे (लागु पदार्थ सेवन) गरी सवारी साधन चलाउने चार जना र यान्त्रिक अवस्था ठिक नराखि सवारी साधन चलाउने एकतिस जना चालकहरू कारबाहीमा परेका छन् । लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका चार जना चालकहरूलाई ट्राफिक प्रहरीले भक्तपुरको जगातीबाट नियन्त्रणमा लिएको छ ।

बा१ज ८४५७ नम्बरका माइक्रो चालक ओखलढुंगाको सुनकोशी गाउँपालिका ५ का २२ वर्षीय कृष्ण कार्की, बा५ख ९५०८ नम्बरका बस चालक सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ५ का ३८ वर्षीय भोपेन्द्र भण्डारी, बा५ख ४३०० नम्बरका बस चालक चितवनको राप्ती नगरपालिका ७ का ३१ वर्षीय रमेश बिक र बा६ख ३००६ नम्बरका बस चालक धादिङको निलकण्ठ नगरपालिका १२ का ३३ वर्षीय टिकाराम श्रेष्ठलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको ट्राफिक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तथा प्रवक्ता जिवनकुमार श्रेष्ठले जानकारी दिए । नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले उनीहरूको पिसाब परीक्षण गर्दा लागुपदार्थ सेवन गरेको प्रमाणित भएको हो ।

प्रहरी अस्पतालको प्राविधिक सहयोगमा निरन्तर रुपमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको संयुक्त टोलीले उपत्यकाका विभिन्न स्थानमा सवारी साधनका चालकहरूले नशालु पदार्थ सेवन गरे/नगरेको चेक गर्दै आएको छ । जगातीमा २५ वटा सवारी साधनलाई चेक गर्दा ४ वटा सवारी साधनका चालकले भने लागुपदार्थ सेवन गरेको पाइएको हो ।

नियन्त्रणमा आएका सबै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त जगाती बुझाइएको छ । चालकले नै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा नियम विपरीत तथा दण्डनीय कार्य भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएपी श्रेष्ठले बताए ।

त्यस्तै, काठमाडौंको सितापाइलामा गरिएको यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नभएका सवारी साधन चलाउने ३१ वटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । ५३ वटा सवारी साधन चेक गर्दा हेण्डब्रेक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठिक नभएका ३१ वटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापनमा सहजिकरण गर्नका लागि ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा लापसे, मापसे, यान्त्रिक चेकिङलगायतका विशेष चेकिङहरु गर्दै आएको ट्राफिक प्रहरी प्रवक्ता एसएसपी श्रेष्ठले घटना र विचारलाई बताए ।