पहिरोले मध्यपहाडी राजमार्ग र कालीगण्डकी ‘करिडोर’ अवरुद्ध

पहिरोले मध्यपहाडी राजमार्ग र कालीगण्डकी ‘करिडोर’ अवरुद्ध


भीषण वर्षासँगै गएराति खसेको पहिरोले दुईवटा राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन् । मध्यपहाडी पुष्पलाल राजमार्ग र कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएका हुन् ।

कालीगण्डकी करिडोरअन्तर्गतको बागलुङ नगरपालिका-१० दब्ल्याङमा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए ।

मध्यपहाडी राजमार्गअन्तर्गत बागलुङका विभिन्न स्थानमा पहिरो खस्दा बाटो अबरुद्ध भएको छ । मध्यपहाडी राजमार्गको काठेखोला गाउँपालिका-६ इनारपानी, गलकोट नगरपालिका-३ बतासे डाँडा, गलकोट नगरपालिका-९ गल्याङ र बडिगाड गाउँपालिका-२ हाँडीखोलामा पहिरोले रडक पूर्ण रूपले अवरुद्ध भएको छ ।

पहिरोका कारण बागलुङ-कुश्मीशेरा सडकको दव्ल्याङ खण्ड पनि अवरुद्ध भएको छ । बाटो खोल्ने प्रयास जारी रहेको सूचना अधिकारी यादवले बताएका छन् ।

photo: rss