‘बैंकिङ सेलिब्रेटी’ राजन सिंह भण्डारीले ‘आफैंलाई नियाल्दा’…

‘बैंकिङ सेलिब्रेटी’ राजन सिंह भण्डारीले ‘आफैंलाई नियाल्दा’…


बैंकिङ क्षेत्रका सेलिब्रेटी व्यक्तित्व राजन सिंह भण्डारीको सपना, सङ्घर्ष र समृद्धिको स्वाभिमानी आत्मकथा समेटिएको पुस्तक ‘आफैंलाई नियाल्दा’ शनिबार (असार १५) राजधानीमा लोकार्पण गरिएको छ । पूर्वमन्त्री शरदसिंह भण्डारी, सांसद प्रा.डा. चन्दा कार्की, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. तिलक रावल, वरिष्ठ चिकित्सक लोकविक्रम थापा, वरिष्ठ पत्रकार प्रकाश रिमाल र पूर्वबैंकर्स खेमबहादुर भण्डारीलगायतले संयुक्तरूपमा पुस्तक-कृतिको विमोचन गरेका हुन् ।

मिनेट मिडिया प्रालि प्रकाशक रहेको ‘आफैंलाई नियाल्दा’मा पुर्खा र पारिवारिक पृष्ठभूमि, बाल्यकाल र प्रारम्भिक शिक्षा, त्यो मधेस त्यो औरही, विवाह र गृहस्थी, बुवा आमा र म, मेरा सोख र स्वभाव, राजकाज र राजनीतिमा भण्डारी परिवार, राष्ट्र बैंकमा २६ वर्ष, सिटिजन्स बैंकमा सत्र वर्ष, बैंकर्स सङ्घको अध्यक्ष, गीतको दुनियाँमा मौसुफ भण्डारी र पारिवारिक कलह नामक शीर्षकमा भण्डारीका स्वाभिमानी आत्मकथा समेटिएको छ ।

सक्षम जीवन जिउन सिकाउने पुस्तकको रुपमासमेत अंगिकार गर्न सकिने सो कृति तेह्र परिच्छेदमा विभक्त रहेको छ भने पुस्तकमा चालिसभन्दा बढी लेखक भण्डारी र भण्डारी परिवारसँग जोडिएका तस्बिरसमेत समेटिएको छ ।

कृति विमोचनको अवसरमा पूर्वमन्त्री शरतसिंह भण्डारीले कृतिमा हक्की स्वभावका लेखकले आफूले आफैंलाई एउटा सफल व्यक्तित्व बनाएको सार्थक जीवनसम्बन्धी आत्मकथा समेटिएको बताए । जीवनको यात्रालाई अघि बढाउने सिलसिलामा परिवारिक सहयोग, शक्ति र समर्थन आवश्यक पर्ने उल्लेख गर्दै उनले पुस्तक प्रकाशित नगर्ने प्रत्येक व्यक्तिका पनि आ-आफ्नै खाले आत्मकथा हुने धारणा राखे ।

यसैगरी लेखकका सहोदर दिदी एवम् प्रतिनिधिसभाका सांसद प्रा.डा. चन्दा कार्कीले असल प्रशासक, व्यवसासायी, बैंकर्स र गायक भण्डारीको कृतिमा स्वाभिमानी गुण र अद्भूत आत्मप्रेमका विषयवस्तु समेटिएको उल्लेख गर्दै बाल्यकालका अनुभूतिहरु स्मरण गरिन् भने पूर्वगभर्नर डा. तिलक रावलले राष्ट्र बैंकको नेतृत्वमा रहँदा लेखकलाई आफूले व्यावसायिकता मिसिएको एउटा हक्की र दूरदर्शी व्यक्तित्वको रूपमा पाएको घटना सुनाए ।

पुस्तक विमोचनको अवसरमा डा. लोकविक्रम थापा र पूर्वबैंकर्स खेमबहादुर रायमाझीले युवापुस्ताका लागि प्रेरणा प्रदान गर्ने सरल भाषामा लेखिएको कृतिभित्र विधि स्थापित गर्न र कानुन पालनामा लेखक कति कठोर भए भन्ने नालीबेली समेटिएको जानकारी दिए ।

शिवचन्द्र स्मृति प्रतिष्ठान आयोजक रहेको उक्त कार्यक्रममा प्रकाशक रिमालले पुस्तकमा लेखकका सवल पक्षमात्र नभइ कमी-कमजोरी पनि खुलेरै प्रस्तुत गरेको उल्लेख गर्दै भने, ‘सामान्यतः पारिवारिक कलह आत्मकथामा पढ्न नपाइने अध्याय हो, जुन यहाँ छ ।’

वरिष्ठ पत्रकार प्रकाश रिमालले पुस्तकबारे जानकारी दिँदै भने, ‘लेखक कुनै उपदेश नदिइकन आफ्नै अनुभव र भोगाइको प्रस्तुतिबाट पेसागत क्षेत्रमा सफल बन्ने सूत्र र आत्मानुशासनको कला सिकाउँछन् । यो पक्ष जुनसुकै क्षेत्रको करिअरमा उपयोगी छ ।’

तीन सय पृष्ठमा समेटिएको पुस्तकको मुल्य एक हजार रुपैयाँ रहेको छ भने पुस्तक बिक्रीबाट आर्जित रकम सामाजिक सेवामा समर्पित गरिने लेखकले जानकारी गराएका छन् ।