समयमै रकम भुक्तानी नपाएपछि व्यवसायी भट्टले त्यागे प्राण

समयमै रकम भुक्तानी नपाएपछि व्यवसायी भट्टले त्यागे प्राण


निर्माण कार्य सम्पन्न गरिसक्दा समेत सम्बन्धित कार्यालयले भुक्तानी नदिएपछि आफू आर्थिक समस्यामा रहेको भनी गुनासो प्रकट गर्दै आएका डडेलधुराका एक व्यवसायीको शंकाष्पद एवम् दुःखद निधन भएको छ । काम गरेवापत समयमै रकम भुक्तानी नपाएकै कारण जिल्ला निर्माण व्यवसायी सङ्घ डडेल्धुराका कार्यसमिति सदस्य डम्बरदेव भट्ट (सन्तोष) को उपचारका क्रममा असार १५ गते धनगढीमा निधन भएको हो ।

नपाल निर्माण व्यवसायी महासङ्घले व्यवसायी भट्टको दुःखद् निधनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासङ्घले बुधबार (१९ असार) एक विज्ञप्ति जारी गर्दै जनाएअनुसार अमरगढी नगरपालिका–५ निवासी भट्टलाई घरनजिकैको जङ्गलमा घाइते अवस्थामा फेला पारिएपछि स्थानीय अस्पतालमा प्रारम्भिक उपचारपश्चात् थप उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएकोमा उपचारका क्रममा निधन भएको हो । स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयअन्तर्गतका ठेक्काहरूको भुक्तानी नआएपछि भट्टले आफू ठूलो आर्थिक समस्यामा परेको निकटस्थलाई बताएको विज्ञप्तिमा उल्लेख छ ।

‘व्यवसायीको ठूलो रकम भुक्तानी नहुँदा उनीहरूले मानसिकरुपमा विक्षिप्त भई ‘आत्मदाह’ गर्नसक्ने अत्यन्त विषम परिस्थितितर्फ यस महासङ्घले विगत केही महिनाअघिदेखि नै सरोकार भएका निकायको ध्यानाकर्षण गराए पनि हालसम्म कुनै सुनुवाइ नभएको विदितै छ । त्यसै कारण डडेल्धुरामा एक व्यवसायीको दुःखद निधन भएको छ, यसमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

महासङ्घका अनुसार करिब रु ४० अर्बभन्दा बढी भुक्तानी नपाएर व्यवसायीहरू समस्यामा परेका छन् । आर्थिक वर्ष समाप्त हुन लाग्दासमेत व्यवसायीले भुक्तानी पाउने अवस्था नरहेकाले तत्काल भुक्तानीका लागि तदारुकता देखाउन सरकारसमक्ष महासङ्घको माग छ ।

महासङ्घले व्यवसायी भट्टप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहेका परिवारजनप्रति समवेदना प्रकटगरी घटनाको निष्पक्ष र सत्यतथ्य छानविन गर्नसमेत माग गरेको छ ।

ज्ञातव्य छ, व्यवसायी भट्ट गत शुक्रबार साँझदेखि परिवारका सदस्यसँग सम्पर्कमा थिएनन् । शनिबार बिहान ४५ वर्षीय भट्ट घाँटीमा चक्कुले रेटिएको अवस्थामा घाइते फेला परेका थिए ।