सिक्किमेली चेली गीताश्री शर्मा ‘चारूशीला साहित्य पुरस्कार’बाट सम्मानित

सिक्किमेली चेली गीताश्री शर्मा ‘चारूशीला साहित्य पुरस्कार’बाट सम्मानित


‘विश्व नेपाली साहित्य महासङ्घ भारत शाखा’की सचिव गीताश्री शर्मा ‘चारूशीला वाङ्मय प्रतिष्ठान, नेपाल’द्वारा ‘चारूशीला साहित्य पुरस्कार २०७९’बाट विभूषित भएकी छन् । भाषा-साहित्यमा उत्कृष्ट सेवा गरेवापत दिइने उक्त प्रतिष्ठित पुरस्कार पाउने गीताश्री पहिलो भारतीय नेपाली साहित्य नारी हुन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य सचिव डा. तुलसीप्रसाद भट्टराईको प्रमुख आतिथ्य र प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार डा. शैलेन्दुप्रकाश नेपालको अध्यक्षतामा असार पन्ध्रको विशेष दिन सम्पन्न भएको कार्यक्रममा साहित्यकार शर्मालाई प्राज्ञ डा. भट्टराईले उक्त पुरस्कार हस्तान्तर गरेका हुन् ।

चारुशीला वाङ्मय प्रतिष्ठान, नेपालले २०७८/०७९ दुई वर्षको गरेर चौध जना स्रष्टाहरूलाई सम्मानित एवम् पुरस्कृत गरेको थियो । वरिष्ठ साहित्यकार, युवा साहित्यकार, बाल साहित्यकार गरेर साहित्यमा तीन पुस्ता जोड्ने उक्त ऐतिहासिक कार्यक्रममा दुईवटा उत्कृष्ट विद्यालयलाई पनि पुरस्कृत गरिएको थियो ।

समारोहमा साहित्यकार गीताश्री शर्मालाई सम्मान-पत्रसहित नगद पचास हजार नगदले पुरस्कृत गरिएको थियो ।

‘जनपक्ष प्रकाशन’ सिक्किमसँग आबद्ध रहेर लामो समयसम्म भाषा र साहित्यको सेवामा रहनुका साथै मुक्तक, रम्बास, कथा, लघुकथा, सुसेली, गद्यकविता, नियात्रा र समीक्षा जस्ता विभिन्न विधामा कलम चलाएर साहित्यको सेवामा निरन्तर लागिपर्ने सिक्किमेली चेली गिताश्री शर्मालाई साहित्यप्रतिको उनको लगाव र सेवाको कदर गर्दै नेपालको प्रतिष्ठित साहित्य संस्थाद्वारा पुरस्कृत गरिएको हो ।

साहित्यकार शर्माका मुक्ता, तिलस्मी, समयका रेखाहरू, नवीन मुना, वर्षा, अमृतवाणीलगायत विभिन्न विधाका पुस्तक-कृतिहरू प्रकाशित भएका छन् ।