ललितपुरमा भारतीयले भाडामा लिएको घरमा सुन पगाल्ने कारखाना : पाँच जना पक्राउ

ललितपुरमा भारतीयले भाडामा लिएको घरमा सुन पगाल्ने कारखाना : पाँच जना पक्राउ


ललितपुर महानगरपालिकामा भारतीय नागरिकले भाडामा लिएको निर्माणाधीन घरमा सुन गाल्ने काराखानामा प्रहरीले छापा मारेको छ ।

बिहीबार दिउँसो ललितपुर प्रहरी परिसरले भारतीय नागरिक युवराज विभुतेले भाडामा लिएको निर्माण भइरहेको घरको तेस्रो तलामा छापा मारेको परिसरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

छापा मार्दा सुन १ सय ७० ग्राम, चाँदी २ सय ४७ ग्राम, डिजिटल तराजु १, नेपाली रुपैयाँ ५० लाख ४ हजार ७ सय २० र सुन पगाल्ने मेसिन ९१ थान फेला परेको छ ।

प्रहरीले भारत महाराष्ट्र प्रदेशको साङ्ले जिल्ला घर भएर ललितपुर ताछिखेल बस्ने २८ वर्षीय युवराज विभुते, बर्ष २० का विक्रम यलवर, बर्ष १८ का अभिषेख विभुते, भक्तपुर सूर्यविनायकका २० वर्षीय सिध्दान्त चौलागाईं र ललितपुरको महालक्ष्मी नगरपालिकाका २० वर्षीय यसवन्त सुनारलाई पक्राउ गरेको छ ।

सुन गाल्ने मेसिनसहित भारतीयहरु पक्राउ परेपछि उनीहरुले खरिद गर्ने सुन कहाँबाट आउने गरेको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।