सहकारी ठगीमा मुछिएका २९४ जना पक्राउ, ८५६ जना फरार

सहकारी ठगीमा मुछिएका २९४ जना पक्राउ, ८५६ जना फरार


नेपाल प्रहरीले सहकारी ठगी प्रकरणमा मुछिएका दुई सय ९४ जनालाई पक्राउ गरेको र आठ सय ५६ जना भने फरार रहेको जानकारी दिएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले संसद्ले दिएको कार्यादेशअनुसार शुक्रबार (२१ असार) गृहसचिव र छानबिनमा संलग्न नेपाल प्रहरीका उच्च अधिकारीहरूसँग छलफल गरेको र, सो छलफलका क्रममा प्रहरीले यसबारे जानकारी दिएको हो ।

छलफलका क्रममा प्रहरी अधिकारीहरूले वित्तीय अपराध अनुसन्धानका लागि प्रहरीमा छुट्टै ब्युरो आवश्यक पर्नेमा जोड दिएको समितिका सभापति सूर्यबहादुर थापाले बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिएका छन् ।

समितिले सरोकार भएका निकायसँग कागजात मगाएर ती निकायका अधिकारीको भनाइ सुन्ने, बुझ्ने गरी अध्ययन गरिरहेको सचिव बबिता मिश्रको भनाइ छ ।

सो समिति गठन भएको यही असार २३ गते आइतबार एक महिना पूरा हुँदैछ । त्यस अवसरमा यसबीचमा भएका उपलब्धि सार्वजनिक गर्ने तयारी गरिएको बताइएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको लामो विरोधपछि संसद्बाट एक महिनाअघि समस्या देखिएका सहकारीका विषयमा अध्ययन गर्न समिति गठन भएको थियो । समितिलाई समस्यामा परेका बचतकर्ताको रकमका बारेमा अध्ययन गरी सिफारिस गर्ने, बचत फिर्ताको अवस्था कहाँ पुगेको छ, त्यसको अध्ययन गर्ने, रकम हिनामिना भएको भनिएका सहकारीबाट गोरखा मिडिया नेटवर्कमा रकम पठाउँदा कानुन बमोजिम प्रक्रिया पूरा गरी भए, नभएको अध्ययन गर्नेलगायत जिम्मेवारी दिइएको छ ।