‘समृद्धिका लागि दलहरूबीच साझा दृष्टिकोण आवश्यक’

‘समृद्धिका लागि दलहरूबीच साझा दृष्टिकोण आवश्यक’


मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मुलुकको विकास र आर्थिक समृद्धिका लागि सबै राजनीतिक दलहरूबीच साझा दृष्टिकोण आवश्यक भएको बताउनुभएको छ ।

अमेरिकानिवासी सानुबाबु सिलवालद्वारा लिखित ‘सपना र यथार्थमा अमेरिका’ नामक कृतिको विमोचन गर्दै उहाँले दिगो विकाससहित राष्ट्र निर्माणमा सबै राजनीतिक दल जिम्मेवारीताका साथ लाग्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले राष्ट्र निर्माणका लागि चैतन्य विवेक, सकारात्मक सोच र रचनात्मक कार्यका लागि शिक्षाप्रणालीलाई समयसापेक्ष बनाएर लैजानुपर्ने अपरिहार्यता रहेको बताउनुभयो । उहाँले अमेरिकामा सपना साकार पार्न सङ्घर्ष, सफलता र उत्प्रेरणाको गाथा बोकेको पुस्तक समेटिएको पुस्तक ‘सपना र यथार्थमा अमेरिका’ पठनीय र सङ्ग्रहनीय भएको बताउनुभयो । उहाँले अमेरिकालाई जुन दृष्टिकोणबाट हेरिए पनि विधिको शासन, मूल्य प्रणालीको अवसर देश भएको भन्दै त्यहाँको समुन्नत र समृद्ध विकासलाई नेपालले आत्मसात् गर्न सक्नुपर्छ भन्नुभयो ।

पूर्वराजदूत प्राडा जयराज आचार्यले ‘सपना र यथार्थमा अमेरिका’ अत्यन्तै उपयोगी र सूचनामूलक भएको बताउनुभयो । प्राडा सुरेन्द्र केसीले मुलुक निर्माणमा चेतनशील आम युवाहरू सक्रिय हुन जरुरी रहेको भन्दै विमोचित कृतिले अमेरिकी जीवनको वास्तविकता, अवसर र सङ्घर्षलाई समेटेको बताउनुभयो ।

राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालले अमेरिका पुग्ने युवाको मोह, सङ्घर्ष र सफलताका तमाम विषयलाई पुस्तकले उल्लेख गरेको बताउनुभयो । वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले सबै नेपाली युवाले पढ्नैपर्ने उपयोगी पुस्तक बजारमा आएको बताउनुभयो ।

वरिष्ठ पत्रकार तारा बरालले अमेरिकी समाज, आप्रवासीका समस्या, विधिको शासन, विकास र प्रविधि, रोजगारीको अवसरलगायत विषयलाई पुस्तकले समेटेको बताउनुभयो । पुस्तकका लेखक सिलवालले प्रवासी जीवनका सङ्घर्ष र सफलताका कथालाई पुस्तकमा उजागर गरेको बताउनुभयो ।

तस्बिर : रासस