असार २३ देखि काठमाडौं प्रहरीले भद्रकालीबाट सेवा प्रदान गर्ने

असार २३ देखि काठमाडौं प्रहरीले भद्रकालीबाट सेवा प्रदान गर्ने


जिल्ला प्रहरी परिसर काठमाडौंले भद्रकालीस्थित नयाँ कार्यालयबाट सेवा प्रदान गर्ने भएको छ ।

यसअघि काठमाडौं महानगरपालिका-१२ टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय परिसरबाट सेवा प्रदान गर्दै आएको परिसरले भद्रकालीमा आफ्नै नयाँ भवन निर्माण भएसँगै असार २३ गते आइतबारदेखि उक्त भवनबाट सेवा प्रदान गर्न लागेको परिसरका प्रमुख वसन्त रजौरेले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले वसन्तपुरस्थित हनुमानढोकामा रहेको आफ्नै भवनबाट सेवा प्रदान गर्दै आए पनि विसं २०७२ वैशाख १२ गते गएको भूकम्पपछि टेकु सरेर सेवा प्रदान गर्दै आएको थियो ।

भद्रकालीस्थित ६ रोपनी क्षेत्रफलमा फैलिएको र कूल ८० करोड लगानीमा निर्माण गरिएको नयाँ भवन आठ तल्लाको रहेको छ ।