ओली निवासका सुरक्षा प्रमुख एपीएफ इन्सपेक्टर थापाको आकस्मिक निधन

ओली निवासका सुरक्षा प्रमुख एपीएफ इन्सपेक्टर थापाको आकस्मिक निधन


नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निवास बालकोटमा सुरक्षा प्रमुख रहेका सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक ४२ वर्षीय उमेश थापाको निधनले निकै दुःखी र स्तब्ध बनाएको बताउनुभएको छ ।

ओलीले समवेदना सन्देश जारी गर्दै धेरै नबोल्ने र लजालु स्वभावका थापा काम एवं जिम्मेवारीमा जतिबेला पनि तम्तयार रहने गरेको स्मरण गर्दै थापाको निधनले निकै दुःखी बनाएको बताउनुभएको छ ।

ओलीले लेख्नुभएको छ, ‘सुरक्षामा खटिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर भाइ उमेश थापाको निधनको खबरले दुःखी छु । आज म बाहिरका कुनै पनि कार्यक्रममा सहभागी भइनँ । हिजो साँझ छुट्टिएर आफ्नै घर गएका उमेश भाइको निधनको खबरले दुःखी बनायो । उनको परिवारजनमा समवेदना व्यक्त गर्दछु ।’

शुक्रबार राति फुटबल म्याच हेर्दा अरुलाई डिस्टर्ब नहोस् भनी एक्लै सुत्न गएका थापा बिहान अचेत अवस्थामा भेटिएपछि भक्तपुर अस्पताल लगिएको थियो ।