बाढीले कल्भर्ड बगाएपछि पृथ्वीराजमार्ग अवरुद्व, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

बाढीले कल्भर्ड बगाएपछि पृथ्वीराजमार्ग अवरुद्व, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह


पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी-७ शेराटारमा रहेको अस्थायी कल्भर्ड बाढीले बगाएपछि सवारी आवतजावत पूर्ण रूपमा बन्द भएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले प्रेस विज्ञप्ति जारी गर्दै यस राजमार्ग भएर आवतजावत गर्ने सवारीसाधानले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण म्याग्दे-६ र शुक्लागण्डकी-७ जोड्ने फेदीखोलामा आएको बाढीले कल्भर्ड बगाएपछि समस्या पैदा भएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिएका छन् । राजमार्ग हुँदै यात्रा गर्ने सवारी चालक र सर्वसाधारणलाई वैकल्पिक मार्गको प्रयोग गर्न र सतर्कता अपनाउन अनुरोध गरिएको हो ।

सडक डिभिजन कार्यालयको समन्वयमा आइतबार पुनः कल्भर्ट राखेर सवारीसाधान सञ्चालन गर्ने योजना रहेको तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।

कल्भर्ड बगाएपछि राजमार्गमा सयौं सवारीसाधान रोकिँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको थियो । वैकल्पिक मार्गका रूपमा रहेको तनहुँको सदरमुकाम दमौलीबाट लमजुङको दुईपिप्ले हुँदै पोखरा-काठमाडौंलगायत शहरमा आवतजावत गर्न सकिने उनको भनाइ छ ।