बाढीले ल्याएको दाउरा झिक्ने क्रममा एक व्यक्ति बगेर बेपत्ता

बाढीले ल्याएको दाउरा झिक्ने क्रममा एक व्यक्ति बगेर बेपत्ता


  • आरपी उपाध्याय, नवलपरासी

विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण गण्डक नदीमा पानीको सतह ह्वात्तै बढेको छ। बाढीका कारण गण्डक नदीमा पानीको सतह बढ्न थालेपछि गण्डक ब्यारेज पुलको ३६ ढोका मध्ये सबै ढोकाहरु खोलिएको जलमापन केन्द्र भारत बिहार बाल्मिकी नगरले जानकारी दिएको छ।

गण्डक नदीमा आएको बाढीसँगै नेपालतर्फको बहुमुल्य काठ, दाउरा पनि बगेको गण्डक ब्यारेज पुलमा तैनाथ सशस्त्र प्रहरी बल नेपाल त्रिवेणी बोर्डर आउट पोस्टले बताएको छ। बाढीका कारण हुनसक्ने मानवीय क्षती रोक्न ब्यारेज पुल र नदी किनारआसपासका इलाकामा सर्वसाधारणलाई जान नदिने सूचना प्रवाह गरेको पनि सशस्त्र प्रहरी बल त्रिवेणीले सार्वजनिक सूचनामार्फत सचेत गराएको छ ।

गण्डक ब्यारेज पुल निर्माण हुँदा कुल ८ लाख क्युसेकसम्म पानी प्रवाह हुनसक्ने क्षमताका साथ निर्माण भएको थियो । गण्डक ब्यारेज पुलमा ३ लाख क्युसेक भन्दा पानीको सतह माथि गएमा खतराको निसान पार गरेको मानिने पनि जलमापन केन्द्रका अधिकारीहरुले बताएका छन् ।

दिनरात परेको वर्षाका कारण गण्डक नदीमा पानीको सतह अझै बढ्न सक्ने भारतीय प्राविधिकहरुले जानकारी दिएका छन् ।

यसैबीच नारायणी नदीले बगाइ ल्याएको दाउरा झिक्ने क्रममा एक व्यक्ति बगेर बेपत्ता भएका छन् । नवलपरासी बसप सुस्ता गाउँपालिका ५ सगरदिनही बस्ने राम केवल चमारको छोरा ३३ वर्षीय अर्जुन चमार घरदेखि २ किलोमिटर पूर्वतर्फको नारायणी नदीको किनारबाट दाउरा झिक्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बसपले जानकारी दिएको छ।

घटना घटेलगत्तै रामनगर प्रहरी चौकीका वरिष्ठ नायब निरीक्षक राजाराम कुर्मीको कमान्डमा गएको टोलीले खोजतलास कार्य सुरु गरेको छ। खोजतलास गर्ने कार्यमा इलाका प्रहरी कार्यालय बेलाटारी, प्रहरी चौकी कुडियाका जनशक्ति र स्थानीयहरुको संयुक्त टोलीले खोजिकार्य गरिरहेको पनि प्रहरीले बताएको छ।