हुम्लामा बोलेरो जीप दुर्घटना : दुई जनाको घटनास्थलमै मृत्यु

हुम्लामा बोलेरो जीप दुर्घटना : दुई जनाको घटनास्थलमै मृत्यु


हुम्लाको ताँजकोट गाउँपालिका-४ स्थित तीर्थसैनामा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्युभएको छ ।

हुम्लाबाट नेपालगञ्ज जाँदै गरेको लु १ ज २३४३ नम्बरको जीप शनिबार (१९ असोज) दिउँसो दुर्घटना हुँदा नेपालगञ्ज उपमहानगरपालीका-२० निवासी ४९ वर्षीय विष्णु परियार र हुम्लाको चङ्खेली गाउँपालिका-६ का करिब ६ वर्षीय बालक अभिषेक बुढाको मृत्युभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।

रोकिराखेको जीप आफैँ पछाडितर्फ गुडेर तीन सय मिटर तल खसेको बताइएको छ । मृतक परियार दशैँ मनाउनका लागि सदरमुकाम सिमकोटबाट घर गएको र उनसँगै बालक अभिषेक पनि मामाघर गइरहेका थिए ।

यसैगरी काठमाडौंबाट लमजुङतर्फ जाँदै गरेको लमजुङको सुपर दोर्दी ‘ख’ आयोजनाको गाडी नुवाकोटमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् ।

बा१४च ३८५४ नम्बरको गाडी नुवाकोटको शिवपुरी-८ काफलडाँडामा दुर्घटना हुँदा काठमाडौंका ५८ वर्षीय उपेन्द्र खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिएका छन् । गम्भीर घाइते खनालको उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

उक्त दुर्घटनामा घाइते भएका गाडी चालक ४६ वर्षीय विश्वनाथ अधिकारी, ५२ वर्षीय रामशरण अधिकारी, ७६ वर्षीया हरिकला खनाल, ५१ वर्षीया गायत्री खनाल र ६३ वर्षीय चन्द्रनाथ शर्माको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ ।