अघोषित लोडसेडिङले उपभोक्ता हैरान !

अघोषित लोडसेडिङले उपभोक्ता हैरान !


  • विकास रौनियार, धादिङ

नेपालमा विद्यूत आपूर्तिमा हुँदै आएको लोडसेडिङ हटेको ६ वर्ष भन्दा बढी भयो । लोडसेडिङ हटेपछि धेरै विद्यूत प्रयोगकर्ताहरूले राहातको श्वास पनि फेरे, तर संघीय राजधानीसँगै जोडिएको धादिङमा विद्यूत आउनेजाने ठेगान नभएका कारण उपभोक्ताले पाउने सास्ती उस्तै छ ।

धादिङ जिल्लामा लोडसेडिङ छ भन्ने कि छैन भन्ने ? छैन भन्ने हो भने बिजुली आउँछ पनि, छ भनौँ त छिनमा आउने र छिनमा जाने गरेर दिनमा दर्जनौं पटक बिजुली बेपत्ता हुन्छ । ‘कसैले पत्याउँंदै नपत्याउने गरी यहाँं दैनिक दर्जनौं पटक अघोषित रुपमा लोडसेडिङ भइरहेको छ । यो समस्या धादिङबासीले भोग्न थालेको वर्षौं भयो ।

यसो त नेपालमा २०७५ साल बैशाख ३१ गतेबाट लोडसेडिङ हटेपछि धादिङ पनि लोडसेडिङमुक्त भएकै हो । तर त्यसयता घोषित रुपमा लोडेसडिङ नभए पनि दिनमै पटक–पटक विद्यूतको लाइन काटिएकै हुन्छ । कुन बेला लाइन कट्ने हो उपभोक्ताले पत्तै पाउँदैनन् । बरु लोडसेडिङ हुँदा विद्यूत आउने र जाने समयको निश्चितता हुन्थ्यो, रुटिनअनुसार तयारी गर्न पाइन्थो । अहिले त त्यो पनि हुँदैन । पटक–पटक बिजुली काटिने समस्याले यहाँका उपभोक्ता आजित छन् ।

आम उपभोक्ता मात्रै नभएर विद्यूत आपूर्ति नियमित नहुँदा सरकारी कार्यालयदेखि बैंक तथा वित्तीय कार्यालयसम्म समस्या भोग्न बाध्य छन् । उपभोत्ताले विद्यूत प्राधिकरणमा धेरै पटक गुनासो गरे तर समस्याको दिर्घकालीन समाधान हुन सकेको छैन ।

नेपाल विद्यूत प्राधिकरणको धादिङ वितरण केन्द्र वर्षायाममा बढी विद्यूत जाने गरेको बताउँछ । हावा हुरी र पहिरोले पोलहरु ढल्ने, लाइन चुँडिने लगायतका समस्याका कारण विद्यूत आपूर्ति नियमित हुन नसकेको नेपाल विद्यूत प्राधिकरण, धादिङ वितरण केन्द्रका प्रमुख सुधीरकुमार रायको भनाइ छ ।

विद्यूत प्रशारणको लाइन धेरै टाढाबाट आउनुपर्ने भएका कारण पनि समस्या आइरहने केन्द्र बताउँछ । नुवाकोटस्थित देवीघाट सवस्टेशन र मार्तातीर्थ सवस्टेशनबाट अहिले विद्यूत आपूर्ति हुँदै आएको छ । समस्याको दीर्घकालीन समाधानका लागि मलेखु सवस्टेशनबाट विद्यूत आपूर्तिका लागि प्रयास भैरहेको केन्द्रले जानकारी दिएको छ ।

गर्मी समयमा विद्यूतको आपूर्ति नहुँदा अझ बढी सास्ती हुने गरेको छ । एकातिर बर्खायाममा विद्यूत धेरै भएर खेर फाल्नुपर्ने अवस्था छ भन्ने प्राधिकरणले उपभोक्तालाई चौविसै घण्टा विद्यूत उपलब्ध गराउन भने सकेको छैन । यसतर्र्फ उर्जा मन्त्रालयदेखि नेपाल विद्युत् प्राधिकारणको ध्यान जान अपरिहार्य छ ।