प्रज्ञा प्रतिष्ठानमा पुस्तक प्रदर्शनी, ८० प्रतिशतसम्म छुट पाइने

प्रज्ञा प्रतिष्ठानमा पुस्तक प्रदर्शनी, ८० प्रतिशतसम्म छुट पाइने


नेपाल प्रज्ञा प्रतिष्ठानले ४१औँ प्राज्ञसभाका अवसरमा पन्ध्रदिने पुस्तक प्रदर्शनी सुरु गरेको छ । आइतबार (२३ असार)देखि शुरु भएको प्रदर्शनीमा प्रतिष्ठानले प्रकाशन गरेका करिब ६ सयभन्दा बढी प्रकारका पुस्तक राखिएका द्धन् ।

प्रदर्शनीको शुभारम्भ गर्दै कुलपति भुपाल राईले प्रतिष्ठानका प्रकाशन सबैले अध्ययन गर्न सकून् भनी छुटसहित प्रदर्शनी आयोजना गरिएको बताए ।

प्रदर्शनीमा प्रज्ञाले २०३० सालदेखि २०८१ जेठसम्म प्रकाशन गरेका पुस्तक बिक्रीमा राखिएको छ । रु. तीनदेखि रु. तीन हजार तीन सय पाँच मूल्यका पुस्तक प्रदर्शनीमा राखिएको छ भने २० देखि ८० प्रतिशतसम्म छुट दिइएको छ । नेपाली बृहत् शब्दकोश र प्रज्ञा नेपाली अङ्ग्रेजी शब्दकोशलगायत शब्दकोशमा २० प्रतिशत छुटको व्यवस्था छ ।

प्रदर्शनीमा भाषा, साहित्य, बाल साहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान, अनुवाद र दर्शनलगायत विषयसँग सम्बन्धित पुस्तक र कविता, प्रज्ञा, समकालीन साहित्य, थायभू, आँगन लगायतका धेरै विषयका पठनीय एवं अति उपयोगी करिब ६०० भन्दा बढी थरीका पुस्तक एवं पत्रपत्रिका समावेश गरिएको छ ।

यसभन्दा अघिका प्रदर्शनीमा साहित्यमा अनुसन्धान गरिरहेका विद्यार्थीहरू बढी पुस्तक किन्न आउने गरेको प्रतिष्ठानले जनाएको छ । प्रज्ञाले विगत वर्षमा कम्तीमा तीनपटक पुस्तक प्रदर्शनी आयोजना गर्ने गरेको छ । पृथ्वी जयन्तीको अवसर पारेर पुस महिना, नयाँ वर्षको अवसर पारेर वैशाख र प्रतिष्ठानको वार्षिकोत्सवको अवसर पारेर असार महिनामा प्रदर्शनी आयोजना हुने गरेको छ । प्रदर्शनीको मुख्य उद्देश्य पठन संस्कृतिको विकास गर्नु रहेको जनाइएको छ ।