मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु


रूपन्देहीको तिलोत्तमा नगरपालिका-१५ कोटिहवा न्यू तिलोत्तमा मार्बलस्थित सडकमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको युपी५६एबी ०४७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा चालक भारत महाराजगञ्ज आदर्शनगर बस्ने ३० वर्षीय गोलु मधेसियाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन हस्पिटल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनालाई उपचारको लागि भारततर्फ लगिएको बुझिएको छ ।

विभिन्न स्थानमा चार जना मृत भेटिए

रौतहटको माधव नारायण नगरपालिका-९ गढउस्थित बाग्मती खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष मृत अवस्थामा फेला परेका छन् । यस्तै इलामको रोङ गाउँपालिका-५ इरौटार बस्ने ६५ वर्षीया सोममाया राई गाउँकै भिर तल खोल्सामा मृत अवस्थामा फेला परिन् ।

गुल्मीको मदाने गाउँपालिका-३ कैरलपाटा बस्ने ७४ वर्षीय खुलानन्द पुरी धुर्कोट गाउँपालिका-७ गोलपोखरी स्थित खरबारीमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

दैलेखको भैरवी गाउँपालिका-१ महतरागाउँ कटौचे बस्ने ६१ वर्षीय तिर्थबहादुर महतरा दुल्लु नगरपालिका-११ स्यालाखाडा स्थित छामघाट खोलाको किनारमा आइतबार मृत अवस्थमा फेला परेको प्रहरीले जनाएको छ ।

शहरमा चोरको बिगबिगी

पछिल्लो समय गरगहना चोरीका घटना बढेको पाइएको छ । यसक्रममा काठमाडौं, भक्तपुर र कास्कीमा लाखौंको गरगहना चोरी भएका छन् ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-२ डेरा गरी बस्ने पाल्पा घर भएका ४४ वर्षीय जगदिश नेपालको कोठाबाट २२ हजार रूपैयाँ, सुनका विभिन्न गरगहनासमेत अन्दाजी ६ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।

काठमाडौं महानगरपालिका-३१ बासुकीमार्ग पुरानो बानेश्वर स्थित गोमा दाहालको स्नेहा ब्युटी पार्लर पसलबाट नगद ४० हजार रूपैयाँ, सुनका विभिन्न गरगहना, मोबाइलसमेत गरी अन्दाजी ५ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल आइतबार बेलुकी चोरी भएको छ ।

यस्तै, कास्कीको पोखरा महानगरपालिका-२५ हेम्जा चाक्लेकुना बस्ने ४० वर्षीया शुसिला पाठकको घरबाट करिब साढे ३ तोला बराबरको सुनका गरगहाना र ५ तोला बराबरको चाँदीको गरगहना आइतबार राति चोरी भएको प्रहरीले जनाएको छ ।