पुष्पलाल (मध्यपहाडी) राजमार्ग : ५० अर्ब रुपैयाँ लागत बढ्ने आङ्कलन

पुष्पलाल (मध्यपहाडी) राजमार्ग : ५० अर्ब रुपैयाँ लागत बढ्ने आङ्कलन


  • सुरेन्द्र सुवेदी, काठमाडौं

पुष्पलाल (मध्यपहाडी) राजमार्ग समयमा निर्माण पूरा नहुँदा करिव ५० अर्ब रुपैयाँ लागत बढ्ने आँकलन गरिएको छ । यो आयोजना आर्थिक वर्ष ०६४/६५ बाट कार्यान्वयन सुरु भएको हो । मध्यपहाडका २६ जिल्लाका २ सय १५ वटा बस्ती जोड्दै निर्माण हुने यो सडकबाट मध्य पहाडमा बसोबास गर्ने करिव १ करोड जनता प्रत्यक्ष लाभान्वित हुने आँकलन गरिएको छ ।

यो आयोजना आव ०७३/७४ सम्पन्न गरिने उदेश्य राखिएको थियो । यो समयमा पूरा नभएपछि ०८४/८५ सम्ममा पूरा गर्न समयावधि थप गरिएको छ । अयोजना सुरु हुँदा यसको लागत ३३ अर्ब ३६ करोड रुपैयाँ तय गरिएको थियो । समयमै निर्माण पूरा नभएपछि अब यो आयोजनाको कूल लागत ८४ अर्ब ३३ करोड रुपैयाँ पुग्ने देखिएको छ ।

नेकपा एमालेले ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा-२०८०’ मा १ हजार ८ सय ७९ किलोमिटर यात्रा गर्दै यो आयोजनाको विस्तृत अध्ययन गरेको छ । उसले गरेको अध्ययनअनुसार आयोजनाको भौतिक प्रगति २७ दशमलव ७० प्रतिशतमात्र भएको छ भने कालोपत्रे १ हजार ४ सय २ किलोमिटर गरिएको छ । आयोजनामा लगानी भने ७६ दशमवल ८० प्रतिशत अर्थात ६४ अर्ब ७६ करोड (मोविलाइजेसन पेस्कीसमेत) भइसकेको छ ।

आयोजनालाई आर्थिक वर्ष ०६७/६८ देखि दुई खण्डमा विभाजन गरी मध्यपहाडी पूर्व खण्ड (करिव ७ सय २१ किलोमिटर) र मध्यपहाडी पश्चिम खण्ड (करिव १ हजार १ सय ५८ किलोमिटर) गरी दुई वटा आयोजनाबाट निर्माण कार्य भइरहेकोमा आव ०७५/७६ देखि पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालय र निर्देशनालयअन्तर्गत ५ वटा योजना कार्यालयहरू (पाँचथर, काभ्रे, गोरखा, पर्वत र दैलेख) बाट निर्माण भइरहेको छ । आव ०६९/७० देखि नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेर प्राथमिकतासाथ कार्यान्वयन भइरहेको पाइन्छ ।