आजको पञ्चाङ्ग एवम् राशिफल (२८ आषाढ २०८१ शुक्रबार, १२ जुलाई २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (२८ आषाढ २०८१ शुक्रबार, १२ जुलाई २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८१ आषाढ २८ गते तद्अनुसार सन् २०२४ जुलाई १२ तारिख शुक्रबार आषाढ शुक्लपक्ष षष्ठी तिथि उत्तरा फाल्गुनी परिघ योग गर करण आनन्दादिमा शुभ योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१८ मा भयो र सूर्यास्त साँझ १९ः०० बजे हुनेछ ।

आजको राशिफल

मेष – आर्थिक लाभ हुने कार्य प्रारम्भ गर्ने समय छ । तपाईंका कामको राम्रै मूल्यांकन हुनेछ । साझेदारीको काममा पनि फाइदा नै हुने देखिन्छ । स्वादिष्ट भोजनको अवसर मिल्ने योग छ । आजको दिन विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । तर, दिनको पछिल्लो प्रहरमा केही समस्या देखापर्न सक्ने सम्भावना रहेकोले सचेत रहनु हितकर होला । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

वृष – रोकिएका काम सुस्तरी बन्नेछन् भने नयाँ योजनासमेत अघि बढ्नसक्ने दिन छ । बोली र व्यक्तित्वको प्रभावका कारण विभिन्न अवसरले पछ्याउन सक्छ । आत्मविश्वासको भाव जागृत हुनेछ, तर पुरानो समस्याले केही झमेला आइलाग्ने योग छ । दाम्पत्य सम्बन्ध तथा प्रमी-प्रेमिकाबीच असमझदारी बढ्न सक्छ, ख्याल राख्नुहोला । खर्च पनि केही वृद्धि होला । यात्रापरक काम बन्नाले उत्साह वृद्धि होला ।

मिथुन – आजको दिन ब्यस्तता वृद्धि एवम् दौडधुपमा समय बित्ने देखिन्छ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिने योग छ । फाइदाका लागि आफ्ना योजनाहरू गोप्य राख्नु आवश्यक देखिन्छ । होसियारीसाथ काम लिनुपर्ने समय छ । नियमित कार्यमा सफलता मिले पनि व्यापारमा कमैमात्र फाइदा होला । लाभको पछि लाग्दा साथीभाइ टाढिन सक्छन्, ध्यान राख्नुहोला । तथापि, शत्रुमाथि विजय प्राप्त हुने देखिन्छ ।

कर्कट – नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिने समय छ । लेनदेनको विवादले अप्ठ्यारोमा परिएला । आज अध्ययन-अध्यापनको कार्यमा मन नजाने देखिन्छ । चाहेर पनि मित्रजनलाई समय दिन नसकिएला । पुरानो समस्या दोहोरिन सक्ने योग छ । दीर्घकालसम्म लाभ हुने काममा हात हाल्दै हुनुहुन्छ भने उचित समय छ । पराक्रम बढ्नेछ । रसरागमा आकर्षण रहला ।

सिंह – सोचेको काम सफलतापूर्वक सम्पन्न हुने दिन छ, तर सोचेअनुसारको लाभ भने नमिल्ने देखिन्छ । विश्वास गरिएका पात्र तथा सहयोगीहरूले हात झिक्नाले अलिक अप्ठ्यारोमा परिएला । धन आर्जन भएपनि तत्काल खर्च हुने योग छ । मनमा द्विविधाको भाव रहनाले महत्वपूर्ण कार्यमा पछि पर्ने सम्भावना छ । रसरागात्मक कर्यमा आकर्षण बढ्नेछ ।

कन्या – नयाँ काममा हात हाल्ने समय छ । काममा मातापिताको सहयोग प्राप्त होला । नसोचेको ठाउँबाट धनलाभ हुने योग छ । तथापि, बाध्यतामा अल्मलिनुपर्दा नियमित कर्म अवरुद्ध हुनसक्छ । महत्वपूर्ण योजना असफल हुने भयले सताउला । जथाभावी वचन दिने बानीले अप्ठ्यारोमा पार्नसक्छ, सावधानी अपनाउनु उचित होला । आरोग्यता रहनेछ । आफन्तजनको साथ प्राप्त हुनेछ ।

तुला – रचनात्मक काम सुरु गर्ने समय छ । विगतको सफलताले थप काम गर्न हौसला दिलाउला । यात्रागत कार्यपनि सार्थक हुने देखिन्छ । आज अप्रत्यासित धनलाभको सम्भावना छ । कृषिकार्यबाट सामान्य लाभ उठाउन सकिनेछ । साहसिक काममा आकर्षण रहला । समष्टिमा आजको दिन रमाइलैसँग बित्नेछ ।

वृश्चिक – आजको दिन केही चुनौतियुक्त तथा प्रतिकुल रहन सक्छ । साझेदारीको कार्यमा समस्या आउनुका साथै अहम् सम्झौता भंग हुनसक्ने योग छ । अरूको फाइदाका लागि उपयोग भइएला । विशेष सचेतना र धैर्य राखी कार्य गर्नु हितकर हुनेछ । सबल स्वास्थ्यको लागि खानपानमा सजगता अपनाउनुपर्ने देखिन्छ । पारिवारिक भेटघाटको समय छ । आज विशेष व्यक्तित्वसँग भेटघाटको अवसर जुर्नसक्छ ।

धनु – राम्रो कर्मफल प्राप्त हुनाले मन प्रशन्न रहने देखिन्छ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने योग भएपनि असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्ने देखिन्छ, सजग रहनुहोला । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने समय छ । पढाइलेखाइमा पनि प्रगति होला । आजको दिन बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा लाभ पुग्नेछ । कर्मबल बढ्नेछ ।

मकर – भूमि तथा मातृधनबाट लाभ लिने समय छ । परिवारजन तथा बन्धु-बान्धवबीच आत्मीयभाव जागृत होला । पारिवारिक जमघटमा मन रमाउनेछ, तर भेटघाटको अलमलले महत्वपूर्ण काममा नोक्सानी पुऱ्याउन सक्छ । तथापि, प्रतिस्पर्धी परास्त हुनेछन् भने मित्रजनले राम्रै साथ दिनेछन् । भाग्यबल बढ्नेछ ।

कुम्भ – अवसरको खोजीमा केही दौडधुप गर्नुपरेपनि विगतका कमजोरीलाई सुधार गर्ने अवसर जुर्ने दिन छ । महत्वाकांक्षी योजना फलीभूत होलान् । बिग्रिएको सम्बन्धमा सुधार र काममा लगानीको समय छ । विदेश भ्रमणका लागि प्रयत्न गर्दै हुनुहुन्छ भने उचित समय छ । धनआर्जनको योग छ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मीन – मेहनतले लाभ प्रदान गर्ने समय छ । व्यापारमा सन्तोषजनक लाभ हुने देखिन्छ । महत्वपूर्ण योजनामा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त होला । तर, निकट सहयोगीजनबाट अलिक धोका मिल्ने सम्भावना छ, सचेत रहनुहोला । दाम्पत्यसुख बढ्नेछ । अध्ययन-अध्यापनमा पछि परिने सम्भावना छ । साझेदारीको काम बन्नेछ । शत्रुपक्ष परास्त हुनेछ ।