ठाउँ-ठाउँको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

ठाउँ-ठाउँको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध


तनहुँका विभिन्न ठाउँमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बिहीबार रातिदेखि परेको वर्षाका कारण आज (२८ असार) बिहान विभिन्न ठाउँमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।

तनहुँको बन्दीपुर गाउँपालिका-५ याम्पामा, व्यास नगरपालिका-१२ घाँसीकुवा, म्याग्दे गाउँपालिका-६ मौरीओडारमा आज बिहान पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ ।

याम्पामा बिहान ४ बजे गएको पहिरो हटाइए पनि रुख ढलेर पुनः राजमार्ग अवरुद्ध भएको छ । निर्माणाधीन मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) को निर्माण कम्पनीको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

यस्तै, बन्दीपुर गाउँपालिका-५ नयाँपुलनजिक पनि पहिरोले सडक अवरुद्ध भएको छ । पहिरोका कारण व्यास-१२ कमलबारी नजिकसमेत बाटो अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिएका छन् । व्यास-१२ घाँसीकुवामा पहिरो खस्दा यो खण्डसमेत अवरुद्ध भएको छ । पहिरोका कारण सडकछेउ रहेका मेसिन समेत केही पुरिएको छ । डोजरलगायतका मेसिन पुरिएर बाहिर निकाल्न नपाउँदा अन्यत्र पहिरो पन्छाउन जान सकिएको छैन । यसैगरी, म्याग्दे-६ मौरीओडारमा समेत पहिरो जाँदा उक्त खण्ड अवरुद्ध भएको छ ।

वर्षाका कारण बुल्दीखोला बस्तीमा पस्दा तनहुँको व्यास-४ तल्लो सिमलटारका ४० घर डुबानमा परेका छन् । बुल्दीखोलामा आएको बाढीले खोला बस्तीमा पस्दा तल्लो सिमलटारका करिब ४० घर डुबानमा परेका हुन् ।

बुल्दीखोलाको बाढीले यहाँका घरका तल्लो कोठा र सटरमा रहेका सामग्री बगाएको स्थानीय श्रीराम कार्कीले जानकारी दिनुभयो । रातिको समयमा आएको बाढीका कारण मानवीय क्षति नभए पनि आर्थिक नोक्सानी भएको उनको भनाइ छ ।

उनले भनेका छन्, ‘खोला पसेर घरको तल्लो कोठा र सटरमा रहेका सरसामान, फर्निचरलगायतमा ठूलो क्षति पुगेको छ । मानवीय जोखिम रहँदा हारगुहार गरी ज्यान बचाउन सफल भइएको छ । बस्ती जोखिममा रहेकाले सुरक्षित गर्न तुरुन्तै उच्च तारबार बलियो बनाउनुपर्ने अवस्था आएको छ ।’

कृष्णपुरको कजवे भत्काएर बेलिब्रिजको व्यवस्थापन गर्न र बस्ती सुरक्षित गर्न आवश्यक रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले क्षतिको विवरण आउन बाँकी रहेको जनाएको छ ।

photo: rss