मनसुनको एक महिना अवधिमा ८८ जनाको मृत्यु

मनसुनको एक महिना अवधिमा ८८ जनाको मृत्यु


बढी वर्षा हुने आँकलन गरिएको यसपालिको मनसुनमा कोशी, गण्डकी र लुम्बिनी प्रदेशले बढी मानवीय क्षति ब्यहोरेको छ ।

मनसुन सुरु भएपछिको एक महिनामा (जेठ २८ देखि असार २७ सम्म) देशभरमा ८८ जनाको मृत्यु भएकामा सबैभन्दा बढी क्षति उल्लेखित तीन प्रदेशमा भएको छ ।

सातमध्ये गण्डकी प्रदेशले सबैभन्दा बढी मानवीय क्षति बेहोरेको हो । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार सबैभन्दा बढी गण्डकी प्रदेशमा २५ जनाको मृत्यु भएको छ भने लुम्बिनी प्रदेशमा २३ र तेस्रोमा कोशी प्रदेशमा १९ जनाले ज्यान गुमाएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार काठमाडौं उपत्यकामा एक, मधेस प्रदेशमा चार, बागमती प्रदेशमा पाँच, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा सात जनाको मृत्यु भएको छ ।

अहिलेसम्म देशभर गरेर अहिलेसम्म एक सय ६ जना घाइते भएका कार्कीको भनाइ छ । अहिलेसम्म ६ जना बेपत्ता रहेका छन् । बाढीका कारण एक सय ७६ घर डुबानमा परेका र आजसम्म विपद्का घटनाबाट तीन हजार चार सय ६२ परिवार विस्थापित भएका पनि प्रहरीले जानकारी दिएको छ ।

photo: rss