सिमलताल बस दुर्घटना : यस्तो छ पौडिएर बाँचेकाको ब्यथा

सिमलताल बस दुर्घटना : यस्तो छ पौडिएर बाँचेकाको ब्यथा


नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा गएको पहिराले त्रिशूलीमा बस खस्दा बाच्न सफल भएका तीनजनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । एकजनाको भरतपुर अस्पतालमा र दुईको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

बिहीबार साँझ ७ः३० बजे काठमाडौंबाट रौतहट गौरका लागि छुटेको गणपति डिलक्स बसमा उनीहरु सवार थिए । तीमध्ये रौतहटका नन्दन यादवले बसको सिसा फुट्दा झ्यालबाट निस्किएर बाँच्न सफल भएको बताए । ‘बसमा हामी ३० देखि ३५ जना थियौँ । त्यसमध्ये तीनजना त्रिशूलीमा खसेको बसको सिसा पुटेपछि बाहिर निक्सियौँ, पौडिएर बाँच्न सफल भयौँ ।’

खाना खाएर बस चढेको एक घण्टापछि बस दुर्घटना भएको सुनाउँदै उनले भनेका छन्, ‘हामी गाडीबाट कसरी बाहिर निस्कियौँ भन्नेसमेत थाहा छैन, एकैपटक पानीमा झरेपछि मात्र सबै थाहा पायौँ, बस पानीमा धेरै मुनी पुगेको थियो । हामी झ्यालबाट खसेपछि पौडी खेल्दै खेल्दै नदी किनारमा आएर बाँच्न सफल भयौँ ।’

टाउकोमा चोट लागेका यादवको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

काठमाडौंमा स्वास्थोपचार गररेर फर्किंदै गरेका गरुडा-९ रौतहटका जुगेश्वर राय यादवले आफ्नो परिवारका चारजना बाहिर निस्किन नसके पनि आफू त्रिशूलीबाट बाहिर निस्किएको जानकारी दिए । बसमा उनका १० वर्षीय छोरा, ३५ वर्षीया छोरी, सात वर्षीया नातिनी र दुई वर्षीय नाती सवार थिए । काठमाडौंमा उपचार गरेर घर फर्कंदै गर्दा यादवको परिवारका पाँचजना दुर्घटनामा परेका हुन् । ‘काठमाडौंमा ६ दिनसम्म उपचार गरेर फर्किँदै थियौँ, एक्कासी यस्तो नसोचेको घटना घट्यो । पाँचपटक बस ठक्कर खाएर बल्ल नदीमा पुगेको थियो, पहिरोमा परेर तल खस्दा सबै यात्रु कराइरहेका थिए । अरूको अवस्था के होला, अहिलेसम्म थाहा छैन । बसको चालक र सहचालक पनि त्यही डुबे।’

बस पहिरोमा पर्नुअघि आधा घण्टा जति जाम परेको जानकारी दिँदै उनले भने, ‘जाम खुलेसँगै विस्तारै अघि बढ्ने क्रममा त्रिशूलीमा खसेको हो । बसको सिसा फुटेपछि बाहिर निस्कन सफल भएँ, अर्को गाडीको सहयोगमा उपचारका लागि अस्पताल पुगेको हुँ ।’

उनको पनि चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

भरतपुर अस्पतालमा उपचाररत रौतहटकै सरोजकुमार गुप्ताको डिस्चार्ज भएको छ । सामान्य अवस्थामा रहेका उनको उपचारपछि डिस्चार्ज गरिएको हो । हाल बेपत्ता बसको खोजिकार्य जारी छ । नेपाली सेना र सशस्त्र प्रहरीको गोताखोर टोली बसको खोजी र सवार यात्रुको उद्धारमा लागेको छ ।

तस्बिर : रासस