सृष्टिसँगै त्रिशूलीमै बग्यो यादव परिवारको सपना

सृष्टिसँगै त्रिशूलीमै बग्यो यादव परिवारको सपना


कलैया उपमहानगरपालिका-१४ (बारा) निवासी २६ वर्षीया सृष्टि यादव शुक्रबार भरतपुर महानगरपालिका-२९ सिमलतालमा पहिरामा परी त्रिशूलीमा खसेका बससँगै बेपत्ता हुनुहुन्छ ।

रेडियोग्राफीको तालिमपछि पर्साको सखुवा प्रसौनी गाउँपालिकामा रेडियोग्राफरका रूपमा कार्यरत उहाँ परिवारको सहारा हुनुहुन्थ्यो । जागीरे भए पनि उहाँ सन्तुष्ट हुनुहुन्थेन, त्यसैले थप कमाइका लागि विदेश जान भनेर उहाँ परीक्षाका लागि काठमाडौं जाँदै हुनुहुन्थ्यो तर काठमाडौ नपुग्दै त्रिशूलीमै बेपत्ता हुनुभयो । योसँगै उहाँको परिवारको सपनासमेत त्यही अस्ताएको छ ।

सृष्टिका बुबा जगदीशप्रसाद यादवले जापान जान परीक्षा दिन काठमाडौं गएकी छोरी शुक्रबार बससँगै त्रिशूलीमा बेपत्ता भएको बताउनुभयो । दुई दिनदेखि दुर्घटनास्थलमा रहनुभएका उहाँ भन्नुहुन्छ,’छोरी काठमाडौं गएको १० बजे राति कुरा गरेर बुबा म काठमाडौं जाँदैछु, परीक्षा दिएर भाइसँग भेट गरेर फर्किन्छु, त्यहाँ पुगेपछि म हजुरसँग कुरा गर्छु भन्थिन्, तर त्यसअघि नै त्रिशूलीमा अस्ताइन् ।’

छोरीको शवको पर्खाइमा जगदीश रातदिन त्रिशूली नदीको किरानामा भौंतारिरहनुभएको छ । ‘छोरीको सपना पूरा भएन, उसँगै हाम्रो सपना पनि त्रिशुलीले बगायो तर अब अन्तिम इच्छा छ छोरीको शव भेटाएर आफ्नो संस्कारअनुसार दाहसंस्कार गर्न पाइयोस्’, उहाँको भनाइ छ ।

rss