लगभग ६ किलो कोकिनसहित एक मलेसियन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोली र प्रहरी वृत्ति लैनचौरको संयुक्त टोलीले आइतबार (३० असार) ठमेलस्थित काठमाडौं सिटी होटलबाट ४७ वर्षीया मलेसियन महिला बाथुमलाई भादिभालोलाई पक्राउ गरेको हो ।
प्रहरीले भादिभालोका साथबाट पाँच किलो आठ सय २० ग्राम कोकिन बरामद गरेको छ । प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलनमार्फत बरामद गरिएको लागुऔषधसहित महिलालाई सार्वजनिक गरेको हो ।
ती महिलाले ६ वटा विद्यालय झोलामा ‘फल्स बटम’ बनाई उक्त पदार्थ थाइल्यान्डको बैङ्कक हुँदै नेपाल भित्र्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले जानकारी दिए । बरामद गरिएको लागुऔषधको अन्दाजी मूल्य रु २० करोड ३७ लाख हुने प्रहरीले जनाएको छ ।
उक्त होटलमा लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । ती महिला मलेसियाबाट १२ जुलाई २०२४ मा लाओस पुगेको, लाओसबाट १३ जुलाईमा थाइल्यान्डको बैङ्कक हुँदै राति ११ः२५ बजे काठमाडौं आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । निजका साथबाट यही जुलाई १९ मा काठमाडौंबाट मलेसिया फर्कने हवाई टिकट फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकी महिलाले लाओस वा थाइल्यान्डबाट कोकिन ल्याएको प्रहरीको आशङ्का छ । कोकिन पठाउने लाओस वा थाइल्यान्डमा रहेको र पाउने भारतमा रहेको अनुमान गरिएको छ । ती महिलाले ‘मेडियटर’को काम गरेको अर्को व्यक्ति भारतबाट काठमाडौं लिन आएको हुनसक्ने प्रहरीको भनाइ छ । पक्राउ परेकी महिला मलेसियाको भाषा मात्र बोल्ने भएकाले थप अनुसन्धानमा जटिलता थपिएको बताइएको छ ।
ती महिलाले कोकिन काठमाडौंलाई ‘ट्रान्जिट’ बनाएर भारत पठाउन लागेको आशङ्का गरिएको छ । उक्त कोकिन लिन आउने व्यक्तिको खोजी प्रहरीले तीव्र पारेको छ । अहिले ठूलो परिणामको लागुऔषधसँगै पक्राउ परेकी ती महिलाले यसअघि पनि पटक-पटक नेपाल आउँदा लागुपदार्थको ओसारपसार गर्ने गरेको हुनसक्ने निष्कर्षसहित अनुसन्धानलाई व्यापक बनाइएको प्रहरी वरिष्ठ उपरीक्षक रजौरेले बताए ।
प्रतिक्रिया