चितुवाको आक्रमणबाट बालकको मृत्यु

चितुवाको आक्रमणबाट बालकको मृत्यु


तनहुँको बन्दीपुर गाउँपालिका-५ फलाम डाँडामा चितुवाको आक्रमणबाट बिहीबार (३ साउन) साँझ एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा १३ वर्षीय सुन्दर अछामी रहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिएका छन् ।

घरनजिकै चितुवाको आक्रमणमा परेका अछामीलाई बन्दीपुर अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।

‘साँझको बेला घरनजिकैबाट चितुवाले आक्रमण गरेर लगेछ, थाहा पाउने बित्तिकै जाँदा बालक गम्भीर घाइते अवस्थामा भेटिएका थिए’, अध्यक्ष थापाले भनेका छन् । मृतक बालकको शव अस्पतालमा राखिएको छ ।

सो वडाका अध्यक्ष ध्रुवप्रसाद लामिछानेले साँझका बेला घरबाहिर ननिस्कन तथा बालबालिकालाई एक्लै नछाड्न आग्रह गरेका छन् ।