ध्यान

ध्यान


भित्रै छ यात्रा तिर घुम्न जाऊँ,
गुफा छ त्यहीँ ध्यान गर्ने ठाऊँ ।
साधना पैले गरौं भित्र पस्न,
सहज हुन्छ अनि भित्र बस्न ।

प्रयास धेरै गरौं बारबार,
भेटन्छ पक्कै त्यो त एकवार ।
जाग्नेछ त्यहाँ दिलमा प्रकाश,
आनन्द विभोर भै मस्तहाँस ।

त्यो श्वाससँगै भित्र-भित्र पस,
भोग र तृष्णा तब हुन्छ वस ।
श्वास समाए अनि ध्यान हुन्छ,
एकत्वमा नै भित्र-भित्र छुन्छ ।

जाऔं है छिटै पसौं भित्र-भित्र,
देखिन्छ त्यहाँ जीवनै विचित्र ।
छ भित्र हाम्रो रमणीय भूमि,
अनेक तीर्थ सूक्ष्मलोक घुमी ।

छ भित्र आफ्नै परिपूर्ण धाम,
त्यै मूल आत्मा सबको हो राम ।
त्यो तत्वज्ञान अतिनै छ पवित्र,
परिपूर्णताको उच्च छ चरित्र ।