घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको घटनास्थलनजिकैबाट सर्लाही प्रहरीले एक घरेलु हतियार बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार घटनास्थलबाट ५० मिटर उत्तर-पश्चिम बाँसको झाङबाट ‘फरसा’ भनेर चिनिने घरेलु हतियार बरामद भएको हो ।
रगत लत्पतिएको अवस्थामा फेला परेको उक्त हतियार पूर्वराज्यमन्त्री रायको हत्यामा प्रयोग भएको हुन सक्ने प्रहरीको आशङ्का छ । घटनामा संलग्नहरूको पहिचान हुन बाँकी रहेकाले फेला परेको हतियारका विषयमा अनुसन्धान भइरहको प्रहरी नायब उपरीक्षक श्रेष्ठको भनाइ छ ।
मलङ्गवा नगरपालिका-४, पुर्ख्यौली घर भएका ८० वर्षका पूर्वराज्यमन्त्री रामचन्द्र रायको चन्द्रनगर गाउँपालिका-१ स्थित खेतसँगैको घर (फार्म हाउस)मा गएराति धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । उनको शव सुतेकै ओछ्यानमा फेला परेको थियो ।
रायसँगै सहयोगीका रूपमा बसेका युवकको बयानअनुसार हत्या भएको राति रायलाई भेट्न तीन जना अपरिचित व्यक्ति उहाँ बसेकै स्थानमा आएका थिए । उनीहरूले रायसँग जग्गाको विवाद मिलाइदिन भनेको खुलेको छ । रायले आफू सुत्ने कोठामै सुताएका उनीहरू परिचित रहेको प्रहरीको आशङ्का छ । घटनालगत्तै प्रहरीले तालिम प्राप्त कुकुरको सहायतामा अनुसन्धान शुरु गरेको थियो ।
राय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट ३० वर्षअघि भूमि व्यवस्था राज्यमन्त्रीमा नियुक्त भएका थिए । दुई छोरा र पाँच छोरीका पिता राय परिवारसँगै काठमाडौं बस्दै आएपनि केही दिन पहिलामात्र धान रोपाइँ गर्न सर्लाही गएका थिए । रायको चन्द्रनगर गाउँपालिका-१, मा ठूलो क्षेत्रफलमा खेती रहेका कारण बेलाबेला उनी खेत हेर्न पुग्ने गरेको स्थानीयवासीको भनाइ छ ।
रायको शव प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ भने जिल्ला प्रहरी कार्यालय सर्लाही र मधेस प्रदेश प्रहरी कार्यालयको टोलीले सुक्ष्म अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया