सर्वाेच्च अदालत : न्यायाधीश नियुक्तिमा आफ्नाको खोजी

सर्वाेच्च अदालत : न्यायाधीश नियुक्तिमा आफ्नाको खोजी


  • सुरेन्द्र सुवेदी, काठमाडौं

सर्वाेच्च अदालतमा रिक्त न्यायाधीश नियुक्ति गर्न आफन्तको खोजी सुरु भएको छ । सर्वाेच्चमा २१ न्यायाधीशमध्ये हाल चार न्यायाधीशको पद रिक्त छ ।

रिक्त न्यायाधीशमा ‘राम्रोलाई भन्दा आफ्नो मान्छेलाई’ नियुक्ति दिने प्रतिस्पर्धा सुरु भएको हो । यसक्रममा दाङ तुलसीपुर उच्च अदालतका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेको नाम पहिलो नम्बरमा आएको छ । पाण्डे गृहमन्त्री रमेश लेखकका साढुभाइ हुन् । २०७० मा ८० जना न्यायाधीश नियुक्ति हुँदा पाण्डे अतिरिक्त न्यायाधीश नियुक्त भएका थिए । २०७२ मा संविधान जारी भएपछि २८ जना न्यायाधीश हटाउँदा पाण्डे पनि हटे । सर्वाेच्चमा सुशिला कार्की प्रधानन्यायाधीश हुँदा रमेश लेखककै सिफारिसमा उनी पुनः न्यायाधीश नियुक्त भए । अब उनी सर्वाेच्चको न्यायाधीश बन्ने अन्तिम तयारीमा छन् ।

यसपछि रमेश राजभण्डारीको नाम आएको छ । उनको मुख्य योग्यता भनेको सर्वाेच्चका पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठका ठूलीआमाका छोरा हुनु हो । राजभण्डारी नेकपा एमालेको तर्फबाट पञ्चायतकालमा जनपक्षीय उमेद्धार बनेर प्रधानपञ्च भएका व्यक्ति हुन् । उनी प्युठान जिल्ला विकास समितिको उपसभापति र एमाले प्युठानको इन्चार्जसमेत भइसकेका व्यक्ति हुन्। २०६४ को संविधानसभा निर्वाचनमा नेपाली काङ्ग्रेसका मुक्तिप्रसाद पण्डितसित पराजित भएका उनलाई कल्याण श्रेष्ठले न्यायाधीश बनाएपछि विराटनगर उच्च अदालतमा मुख्य न्यायाधीश छन् ।

न्यायिक सेवामा नेकपा एमालेका नेताका रुपमा चिनिने नृपध्वज निरौला सर्वाेच्चका प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलाई कू गर्ने चक्रब्युहका पात्र हुन् । उनी प्रधानमन्त्री केपी शर्मा ओलीको रोजाइमा सर्वाेच्च अदालतमा न्यायाधीश बन्ने पर्खाइमा छन् । हाल उनी पाटन उच्च अदालतको मुख्य न्यायाधीश छन् । यसपछि नेकपा एमालेका नेता टेकनारायण कुँवरको नाम आएको छ । एमालेका अर्का नेता रमेश बडाल पनि न्यायाधीश बन्ने लाइनमा छन् । अनि विजय मिश्र भन्ने व्यक्ति नेपाली काङ्ग्रेसबाट सर्वाेच्चमा न्यायाधीश बन्ने लाइनमा छन् ।

सर्वाेच्च अदालतको न्यायाधीशमा कसलाई लाने ? भन्ने विषयमा एउटा ‘अदृश्य टोली’ सक्रिय रहेको छ । हरिहर दाहाल, प्रेमबहादुर खड्का, शम्भू थापा, रमण श्रेष्ठ, चण्डेश्वर श्रेष्ठ र राधेश्याम अधिकारी यो ‘टोली’मा सक्रिय भएर लागेका छन् । अब यो टोलीले क–कसलाई मन पराउने हो, यी माथिका नामबाट नियुक्ति हुने बुझिएको छ ।