इख…

इख…


हिजो सत्ता वरिपरि बस्नेहरु
आज भोलि साथी चिन्न थालेका छन्
अस्ति साथमा को को थिए
एकाएक गरी भिन्न थालेका छन् !

आज फेरि सत्ताधारीहरु
उछिनपाछिनमा थालेका छन्
विचार सिद्धान्तहरुलाई
अचार झैँ सिसीमा गालेका छन् !

अन्यौल र अन्यायहरुलाई
गरिबले आङ टालेझैँ टालेका छन्
सत्ताधारीले भोटे कुकुरहरु
चार साँझ मासु खुवाएर पालेका छन् !

न्याउरा र निमुखा रैतीहरु
भोकप्यासले गल्नुगलेका छन्
शहरका भोज भतेरहरुमा
पाँचतारे खाना सुंगुरलाई फालेका छन् !

मध्य असारमा किसानहरुले
पसिनाले जीउ अनुहार पखालेका छन्
अति अन्यायमा परेकाहरुले
अश्रुपुर्ण आँखाले दुःखलाई नियालेका छन् !

यस्तै हो गणतन्त्र भनी
आफूले आफैलाई सम्हालेका छन्
चेतना भरिएका जोशहरुले
मनभरी गोमनको इख पालेका छन् !